निलबाराहीको भू–क्षय रोकथाम गर्ने योजनाको थ्री डि नक्सासहितको डिजाइन सार्वजनिक

भक्तपुर, भदौ ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले वडा नं. ९ स्थित प्रसिद्ध, ऐतिहासिक, धार्मिक तिर्थस्थल निलबाराही मन्दिरको पुर्व र पश्चिमतर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि कार्यान्वयन गरिने योजनाको थ्री डि नक्सासहितको डिजाइन मंगलवार सार्वजनिक गरेको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गरी मध्यपुर थिमि नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले कार्यान्वयन गरिने योजनाको थ्री डि नक्सासहितको डिजाइन सार्वजनिक गरेको हो ।
यसअघि मंगलवार बिहान निलबाराहीमा नै स्थानीय सरोकारवालाहरुको सामुन्ने डिजाइन सार्वजनिक गर्ने तयारी नगरपालिकाले गरेको थियो । तर निलबाराही क्षेत्रमा श्रमदान अभियान सञ्चालन गरिरहेको निलबाराही संरक्षण तथा सरोकार समितिको अवरोधका कारण कार्यक्रम हुन सकेको थिएन ।
पत्रकार सम्मेलनमा निलबाराही क्षेत्रको पहिरो तथा भू–क्षयको दिर्घकालिन समाधानका लागि नगरपालिकाले २०७९ सालदेखि निलबाराही क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर संरक्षणका कामहरू गरिरहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


निलबाराही गुरुयोजना कार्यान्वयन गर्न नगरपालिकाको आन्तरिक स्रोतले मात्र पर्याप्त समाधान सम्भव नभएकाले केन्द्र सरकार र अन्य सम्बन्धित निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यहरू अघि बढाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार केभिडिए मार्फत ७ करोड १ लाख ८४ हजार ९६३ रुपैयाँको बजेट विनियोजन भई ६ करोड ६० लाख ४७ हजार ७ सय ७ रुपैंयामा सम्झौता र कार्यदेश भइसकेको छ । यो सम्झौता र कार्यदेश समेत भइसकेको छ ।
केभिडिएको योजना कार्यान्वयनको तहसम्म पुग्न नगरपालिकाले विभिन्न मितिमा एक दर्जन पटक केभिडिएका विकास आयुक्तहरुसँग, स्थानीय सरोकार समितिका पदाधिकारीहरु र प्राविधिकहरुसँग आवश्यक छलफल गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


पहिरो नियन्त्रणका सम्पूर्ण कार्यहरू वातावरणमैत्री र इबीए प्रविधिसहित दीर्घकालीन रुपमा पहिरो नियन्त्रण हुनेछ । बायो इञ्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिम लगायतका अत्याधुनिक प्रविधिहरू पनि निलबाराही पहिलो नियन्त्रको कार्यमा उपयोग गरिने श्रेष्ठले बताउनुभयो ।
उहाँले नगरपालिका र उपत्यका विकास प्राधिकरणद्वारा विनियोजित बजेट कार्यान्वयन गर्न स्थानीय सरोकार समितिसँग निरन्तर छलफल हुँदै आएको छ । समितिकै पदाधिकारीहरुसँगको सल्लाह अनुसार योजनासम्बन्धी डिपिआर संशोधन समेत सम्पन्न भइसकेको छ । उहाँले स्थानीयले २०८२ साल जेठ महिनादेखि सुरु गरेको जनश्रमदान अभियानप्रति नगरपालिका र व्यक्तिगत रुपमा सैद्धान्तिक भिन्नता नभएको बताउनुभयो ।


उहाँले नगरपालिकाले निलबाराही क्षेत्रलाई भूस्खलन र भू–क्षयबाट जोगाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि बढाइएको बताउनुभयो । यसका लागि मन्दिर परिसरको पूर्व–पश्चिम भागमा पहिरो तथा भू–क्षय नियन्त्रण कार्य तत्काल काम गर्ने गरी करिब ९ करोड ४३ लाख रुपैयाँको लागतमा काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) र मध्यपुर थिमि नगरपालिकाले संयुक्तरूपमा काम सुरु गर्नेछन् ।
उहाँले दुई वर्षभित्र करिब २० करोड रुपैयाँ खर्च गरेर निलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि केभिडिएसँगै नगरपालिकाको आन्तरिक स्रोत परिचालन गरिनेछ । निलवाराही वनक्षेत्रको पहिरो नियन्त्रण गरी मन्दिर क्षेत्रको सुरक्षा गर्दै यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, स्थानीयस्तरमा व्यवसाय र रोजगारी सिर्जना गरी आर्थिक विकास गर्न मध्यपुर थिमि नगरपालिका सक्रिय रूपमा लागिरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


निलबाराहीमा चक्रपथसहितको पहिरो नियन्त्रणका लागि आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रीय सरकारको समपूरक अनुदानमार्फत प्राप्त ९ करोड ७६ लाख ३२ हजार एक सय ८८ रुपैंया बजेटमध्ये पहिलो किस्ताको १ करोड ६० लाख रुपैयाँबाट निलवाराही प्रवेशद्वारदेखि सरस्वती खेल उकालोसम्मको कार्य सम्पन्न भएको छ ।
आ.व. २०८१÷०८२ मा दोस्रो किस्ता अन्तर्गतको ३ करोड बजेट मध्ये निर्माण व्यवसायीसँग सम्झौता भई २ करोड ८२ लाख ९२ हजार १६८ को कार्यादेश बमोजिम १० प्रतिशतरकम निर्माण व्यवसायीलाई मोविलाइजेसन पेश्की उपलब्ध गराईएको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि केन्द्र सरकारबाट प्राप्त २ करोड ५० लाख रुपैयाँलाई ३० प्रतिशत मानी नगरपालिकाको आन्तरिक स्रोतबाट थप ७० प्रतिशत (५ करोड ८३ लाख ३३ हजार सहित) कुल ८ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेटबाट पहिरो नियन्त्रणको कार्य अघि बढाउने चरणमा छ ।


आर्थिक वर्ष २०८२÷८३ का लागि केन्द्र सरकारबाट सडक निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको ।
उहाँका अनुसार वर्षातको समयमा ठूलो मात्रामा वालुवा, माटो बग्ने स्थानमा रोकथामका लागि सानुवनदेखि दुवाकोट मोडसम्म ढुङ्गाको पर्खाल निर्माण कार्य भएको छ । यसका साथै निलवाराही जङ्गलको पश्चिम भागमा अतिक्रमण भएका करिव ४ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको छ । यस्तै निलबाराही मन्दिरको उत्तर पश्चिम क्षेत्रमा करिब २ रोपनी १४ आना सार्वजनिक जमिनमा पर्खाल लगाई संरक्षण गरिएको छ ।
निलवाराही वनक्षेत्रको पहिरो नियन्त्रण गरी मन्दिर क्षेत्रको सुरक्षा गर्दै यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, स्थानीयस्तरमा व्यवसाय र रोजगारी सिर्जना गरी आर्थिक विकास गर्न मध्यपुर थिमि नगरपालिका सक्रिय रूपमा लागिरहेको छ ।