चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर, साउन ३०
गुण्डा नाइकेको छवि बनाएका चक्रे मिलन भन्ने मिलन गुरुङलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले शुक्रवार एक लाख १० हजार धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको इजलासले चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
२०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको थियो । उक्त घटनामा प्रहरीले सर्लाही घर भई महालक्ष्मी नगरपालिका ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवासलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो भने चक्रे मिलनको नाम पनि घटनामा जोडिएको थियो । खवासलाई गत चैत्र २८ गते जिल्ला न्यायाधीश दिलिपराज पन्तको इजलासले दाबी नपुग्ने भनेर सफाइ दिएको थियो ।
त्यसबेला चक्रे मिलनलाई पक्राउ नगरी अदालतमा ‘घटनामा संलग्न भनिएका चक्रे मिलन भन्ने मिलन गुरुङको तीन पुस्ते विवरण सहित एकिन वतन खुली नआएको र निज हालसम्म पक्राउ परेको नदेखिएको हुनाले निज पक्राउ परी आएमा साथै वारदातमा थप अन्य कोही कसैको संलग्नता देखिएको अवस्थामा निजहरु उपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोजन पत्र दायर गरिने व्यहोरा अनुरोध’ गरेको थियो ।
गत साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौंको महाराजगंजस्थित साम्बाला होटलबाट मध्यराती चक्रे मिलन पक्राउ परेका थिए । त्यसपछि प्रहरीले उनलाई प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएका थिए ।
बयानमा चक्रे मिलनले इन्कारी बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । बयानमा चक्रे मिलनले त्यो घटना हुँदा आफू घटनास्थलमा नभएको र आफ्नो कुनै संलग्नता पनि नभएको भनेर बयान दिएको स्रोतले बताए । ‘म त्यहाँ थिइन भनेर इन्कारी बयान दिएका छन्,’ स्रोतले भने ।
अदालतमा शुक्रवार बकपत्र गराउने र थुनछेकको बहशका क्रममा पनि चक्रे मिलनले मनिष रायमाझीलाई नचिन्ने बयान दिएका थिए । ‘मैले मनिषलाई चिन्दिनँ । उनलाई नचिनेपछि धम्की दिने र मेसेज पठाउने कुरै भएन । मैले अजित खवासलाई पनि चिनेकै छैन । मैले कोही कसैलाई नचिनेको अवस्थामा पूर्वयोजना बनाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्न लगाउने कुरै भएन,’ उनले बयानमा भनेका थिए ।
पीडित भनिएका व्यक्तिले किन जाहेरी दिए भन्ने समेत थाहा नभएको दावी गर्दै उनले शंकाकै भरमा आरोप लगाएको हुन सक्ने बयान दिएका थिए ।