भक्तपुर, साउन ३०
मध्यपुर थिमि–१ लोहकिल्थली र काठमाण्डौं महानगरपालिका–३२ को सिमानामा रहेको मनोहरा सुकुम्बासी बस्तीका दुई दर्जन घरटहरा शुक्रवार भत्काएको छ । मनोहरा जग्गा एकिकरण आयोजनाको जग्गा अतिक्रमण गरेर करिव ३ महिना अघि निर्माण गरिएका ती घरटहरा आयोजनाले काठमाण्डौं महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा डोजर चलाएर भत्काएको हो ।
डोजर चलाउनु अघि विवाद भई झडप समेत भएको थियो । झडपमा काठमाण्डौँ महानगरपालिकाको महानगर प्रहरी जवान फिलिपिन्स सारु मगर घाइते भई उपचारको लागि काठमाण्डौँ शिक्षण अस्पताल लगिएको छ ।
मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्र अन्तर्गत खोलाको ग्रिनबेल्ट, ११ मिटर र ९ मिटर सडक एवम् केही व्यक्तिका जग्गा समेत अतिक्रमण गरी गत बैशाखमा घरटहरा निर्माण गरेका थिए । आयोजनाले त्यतिबेला पनि घरटहरा नबनाउन र बनाएका पनि हटाउन पटक पटक सार्वजनिक सूचना जारी गरेको थियो ।
पटक पटकको अनुरोधलाई अटेर गरेपछि आज प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काएको आयोजनाका कार्यबहाक प्रमुख निर्मला सुवेदीले बताउनुभयो । अहिले करिव तीन दर्जन घरटहरा भत्काएपनि पहिले बसेका सुकुम्बासीका घरटहरा भने तत्काल नभत्काइने उहाँले बताउनुभयो ।
अतिक्रसमत घरटहरा भत्काउन काठमाण्डौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा करिव एक सय जना महानगर प्रहरी, प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाको नेतृत्वमा करिव ३० जना प्रहरी र सशस्त्र प्रहरी बल २२ नं. गण गुह्ेश्वरी दुुवाकोटका सशस्त्र प्रहरी नायव उपरिक्षक गणेशदत्त पाण्डेको नेतृत्वमा करिव ५० जना प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी वृत्त थिमिका प्रमुख प्रनाउ ढुंगानाले महानगर प्रहरीले घरटहरा भत्काएको स्थानमा थप मद्धतको लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।