भक्तपुर, साउन २९
गुण्डा नाइकेको छवि बनाएका चक्रे मिलन भन्ने मिलन गुरुङलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखी ज्यान मार्ने उद्योगमा अनुसन्धान शुरु भएको छ । गत साउन १५ गते जन्म दिन मनाइरहँदा काठमाण्डौंको महाराजगंजस्थित साम्बाला होटलबाट मध्यराती पक्राउ परेका चक्रे मिलनलाई हिजो बुधवार काठमाण्डौं जिल्ला अदालतले ३० हजार रुपैंया धरौटीमा छाड्न आदेश दिएपनि प्रहरीले एक वर्ष अघिको एक घटनामा अनुसन्धानका लागि उनलाई थिमि वृत्तको जिम्मा लगाएको हो ।
२०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा नाम जोडिएका चक्रे मिलनलाई सोही घटनाको अनुसन्धानका लागि प्रहरी वृत्त थिमिको हिरासतमा राखिएको हो ।
सो घटनाको सम्बन्धमा प्रहरीले गत साउन २३ गते नै चक्रे मिलनलाई जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा ल्याई बयान गराईसकेको छ । बयानमा चक्रे मिलनले इन्कारी बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बयानमा चक्रे मिलनले त्यो घटना हुँदा आफू घटनास्थलमा नभएको र आफ्नो कुनै संलग्नता पनि नभएको भनेर बयान दिएको स्रोतले बताए । ‘म त्यहाँ थिइन भनेर इन्कारी बयान दिएका छन्,’ स्रोतले भने ।
प्रहरीले गत वर्ष अदालतमा प्रस्तुत मुद्दामा ‘घटनामा संलग्न भनिएका चक्रे मिलन भन्ने मिलन गुरुङको तीन पुस्ते विवरण सहित एकिन वतन खुली नआएको र निज हालसम्म पक्राउ परेको नदेखिएको हुनाले निज पक्राउ परी आएमा साथै वारदातमा थप अन्य कोही कसैको संलग्नता देखिएको अवस्थामा निजहरु उपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोजन पत्र दायर गरिने व्यहोरा अनुरोध’ गरेको थियो ।
उक्त खुकुरी प्रहारको घटनामा प्रहरीले सर्लाही घर भई महालक्ष्मी नगरपालिका ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवासलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । तर गत चैत्र २८ गते अजितविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा जिल्ला न्यायाधीश दिलिपराज पन्तको इजलासले दाबी नपुग्ने भनेर अन्तिम फैसला गरिसकेको छ ।
यसैबीच प्रहरी स्रोतका अनुसार चक्रे मिलनविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा नचलाउने तयारी भएको छ । घटनामा पिडित भनिएका मनिष रायमाझीलाई चक्रे मिलनको संलग्नता नभएको बकपत्र गराएर चक्रे मिलनविरुद्ध मुद्दा चलाउन नपर्ने रायसहित फाइल तामेलामा राख्ने गृहकार्य भइरहेको प्रहरी स्रोतले बताए ।