लक्ष्मी गारु, भक्तपुर, साउन २७
मध्यपुर थिमिको ऐतिहासिक एवम् तान्त्रिक विधि विधानयुक्त लाय्कु भैलः (लायकु भैरव) प्याखँ (नाच) सोमवार रातीदेखी प्रदर्शनमा आएको छ । गाईजात्राको भोलीपल्ट अर्थात भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार रात यो प्याखँ नचाईन्छ ।
मध्यपुर थिमि–४, लाय्कु (दरवार)बाट यो प्याखँ प्रदर्शनमा ल्याएको हो । सोमवार राती करिव साढे ९ बजे यो प्याखँ प्रदर्शन शुरु गरिएको हो । प्याखँ रातभर मध्यपुर थिमिका विभिन्न स्थान र डबलीहरुमा प्रदर्शन गरिएको हो ।
लाय्कुमा नासःद्यो (नाट्यश्वरी)को साधना गरी भैलः प्याखँका देवगण थिमिका इष्टदेवी बालकुमारी प्रांगणमा पुगी बालकुमारीको साधना गरी नाचेका थिए । त्यसपछि भैलः देवगण दथलय, मरुटोल, ईनायलाछी, दिगुटोललगायतका टोलमा पुगेर प्याखँ प्रदर्शन गरेका थिए । यो क्रम २९ गते रातीसम्म चल्ने भैलः प्याखँका गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
लाय्कु भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।
लाय्कु भैलःमा यसवर्ष हृदय (सुकु) श्रेष्ठ ज्यापुंग, अर्जुन (चितुवा) श्रेष्ठ न्हापाँ भैल, सुलभ (सिबन्जा) श्रेष्ठ लिपाँ भैल, सन्देश (हामो) श्रेष्ठ न्हापाँ दाँगी र स्वयम ( थापा) श्रेष्ठ लिपाँ दाँगीको भूमिकामा रहेको श्रेष्ठले बताउनुभयो । यस्तै प्याखँको गुरुहरुमा अर्जुन श्रेष्ठ र निरञ्जन श्रेष्ठलगायत छन ।
त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जना भन्दा बढीको टोली भैल प्याखँमा सहभागी रहेको श्रेष्ठले बताउनुभयो ।
लाय्कु भैलः प्याखँमा ज्यापुंगःलाई हरिसिद्धिको प्रतिकको रुपमा लिइन्छ । भैलः प्याखँमा अरु कलाकारहरुसँग मुकुण्डो हुन्छ तर ज्यापुंग विना मुकुण्डो नाचिन्छ । यो प्याखँमा ज्यापुंग हुनेको उमेर कम हुन्छ । भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगले देवगणलाई कपासको बियाँले हान्ने गर्दछ ।
लाय्कु भैलःको न्हापाँ भैलःलाई दिगु टोलको चण्डी भैल पनि भनिन्छ । चण्डी भैलः अथवा प्रचण्ड भैरव अष्ट भैरवको आठ रुपमध्ये एक रुपको रुपमा लिइन्छ । यो भैलको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ । नाचमा यो न्हापाँ भैलः ज्यापुंग पछिको दोस्रो क्रममा बस्ने गर्दछ ।
लिपाँ भैलः यो प्याखँमा न्हापाँ भैलको पछाडी बस्ने गर्दछ । लिपाँ भैलःलाइ क्वँचा भैल पनि भनिन्छ । यो भैलः बालकुमारीको भैलः द्यो हो । यसलाई बटुक भैरवको प्रतिकको रुपमा पनि लिइन्छ । यो भैलःको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ ।
भैलः प्याखँको न्हापाँ दागीँलाई बालकुमारीको प्रतिकको रुपमा लिइन्छ । बालकुमारी चण्डी भैलःको शक्ति देवी हो । नाचको क्रममा न्हापा दागीँ लिपाँ भैलःको पछाडि बस्ने गर्दछ । न्हापा दागीँको दाँया हातमा डमरु हुने गर्दछ । बाजाको तालमा डमरु बजाउँदैं नाच्ने गर्दछ ।
लिपाँ दागीँ महालक्ष्मीको प्रतिकको रुपमा लिइन्छ । नाचको क्रममा लिपाँ दागीँ न्हापा दागीँको पछाडि बस्ने गर्दछ ।
मध्यपुर थिमिको बालकुमारी र चपाचो क्षेत्रमा थिमि भैलः र लाय्कु भैलः गरी दुई वटा भैलः प्याखँ र नगदेशमा नगदेश तान्त्रिक भैलः प्रचलनमा रहेको छ ।
पुस्तौं पहिलेदेखी तान्त्रिक विधि अनुसार सञ्चालनमा आएको भैलः प्याखँ शुरु शुरुमा थिमिको लायकु (दरवार)बाट लायकु भैलःको रुपमा प्रदर्शन गरिन्थ्यो । पछि आएर लाय्कुबाट बाहेक पनि स्थानीय जनता विशेषगरी प्रजापति समूदायबाट लाय्कुसँगको समन्वयमा थिमि भैलः प्याखँ प्रदर्शन गरिन थालेको इतिहास पाईन्छ ।
भैलः सम्बन्धी कथन अनुसार लाय्कस भैलः ननिकाल्ने भएपछि मात्र प्रजापति समूदायले थिमि भैलः निकाल्ने परम्परा रहेको छ ।
भैलः प्याखँ निकाल्नको लागि स्थायी रुपमा कुनै आर्थिक स्रोत नभएकाले यसलाई नियमित सञ्चालन गर्न कठिन रहेको प्याखँका गुरु श्रेष्ठले बताउनुभयो । प्याखँ प्रदर्शनका लागि आवश्यक खर्च भैलःमा देवी देवता बन्ने व्यक्तिले नै व्यहोर्नु पर्ने अवस्था छ । सोही कारण यो प्याखँ नियमित सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो ।
प्याखँ निकाल्ने भएपछि महिना दिन अघिदेखी तयारी गर्नुपर्ने, पुजापाठ, मुहाली बाजा बाधकको पारिश्रमिक, प्याखँ प्रदर्शनका क्रममा चार दिन र प्याखँ समापन भएपछि हुने क्षमापुजामा गरिने भोजमा धेरै खर्च हुने गरेको गुरु श्रेष्ठले बताउनुभयो । यसवर्ष भैलःको मुकुण्डो तामाको नयाँ निर्माण गरेकोले पनि खर्च बृद्धि भएको उहाँले बताउनुभयो ।
पछिल्लो केही वर्ष यता मध्यपुर थिमिमा प्रचलनमा रहेका भैलः प्याखँ, महाकाली, अष्टमातृका, सलँचालगायत धार्मिक एवम् साँस्कृतिक महत्वका परम्परागत प्याखँहरु सञ्चालनका लागि आर्थिक सहयोग दिने स्थानीय संघसंस्था, मनकारी एवम् समाजसेवी, सँस्कृतिप्रेमीहरुको संख्या बढ्दो छ । यसै अनुसार भैलः प्याखँ सञ्चालनका लागि भौतिक र आर्थिक सहयोग जुटिरहेको उहाँले बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाले पनि नगरभित्र सञ्चालनमा रहेका महाकाली, भैलः, जिब्रो छेड्ने जात्रा, बिस्काः जात्रा, गुँलाधर्म परिक्रमालगायतका ऐतिहासिक प्याखँ, जात्रा पर्वहरुको संरक्षण र प्रवद्र्धन गर्ने नीति अनुसार आवश्यकता अनुसार आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ । सोही अनुसार यसवर्ष पनि मध्यपुर थिमि नगरपालिकाले आवश्यकता अनुसार लाय्कु भैलःलाई पनि सहयोग गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
भैलः प्याखँ सम्बन्धी किंवदन्ती अनुसार तत्कालिन समयमा थिमि क्षेत्रका जनताहरुलाई भूतप्रेतले अत्याधिक दुःख दिइरहेको थियो । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसानहरु खेतीपाती गर्न जान पनि डराउन थाल्यो । त्यसपछि देशमा हाहाकार मच्चियो । जनताहरु दरबारको राजालाई गुहार्न गयो र राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसँग छलफल गर्दा मानिसहरुमा तान्त्रिक रुपमा भैरवनाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेतहरु टिक्न नसक्ने सल्लाह दिए । सोही आधारमा थिमिमा भैलः प्याखँ सञ्चालनमा आएको विश्वास रहेको छ ।–––