भक्तपुर, साउन २६
मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखासँग सोमवार सम्झौता नविकरण गर्दै मध्यपुर थिमिले नगरबासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो ।
सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार मध्यपुर थिमि नगरबासीले नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्करुपमा रगत तथा रक्ततत्व प्राप्त गर्नेछ । रगतको लागि आवश्यक पर्ने दस्तुर रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ ।
सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहजरुपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले बिरामीको जीवन बचाउन आवश्यक रगत समेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकोले नगरबासीको सर्वसुलभ र निःशुल्करुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाको लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्ने बारे सम्झौता भएको हो । सोही सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आइरहेको छ ।
मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सम्झौताको पहिलो वर्ष ७४७ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क वितरण गरेको थियो । सोको ७ लाख ३२ हजार ९९८ रुपैंया रेडक्रसलाई भुक्तानी गरेको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ३६१ जनाले निःशुल्क रगत तथा रक्ततत्व सेवा लिएका थिए भने आ.व. २०८१÷०८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए । लक्ष्मी गारु–––