लक्ष्मी गारु, भक्तपुर, साउन २६
मध्यपुर थिमि–७, नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ (भैरव नाच) सोमवार रातीदेखी प्रदर्शन भएको छ । गाईजात्राको भोलीपल्ट अर्थात भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार रात मध्यपुर थिमिमा भैरव, महाकालीलगायतका देवी देवताका नाच प्रदर्शन गर्ने परम्परा बमोजिम यसवर्ष नगदेशमा तान्त्रिक विधिविधान युक्त भैलः प्याखँ प्रदर्शन भएको हो ।
भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक, एवम् सहयोगीहरु समेत गरी एक सय जनाको समूह सक्रियरुपमा सहभागी भइरहेका छन ।
श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यसवर्ष श्रीष घजुले न्हापाँ (पहिलो) भैलःको भूमिका निर्वाह गर्दै हुनुहुन्छ अर्थात भलैःको रुपमा श्रीष घजु रहेका छन । उहाँ भैलः गुरु कृष्णभक्त घजुका छोरा हुनुहुन्छ ।
यस्तै लिपाँ (पछिल्लो) भैलैःको रुपमा दिपेश वाडे, न्हापाँ दाँगी रोनिश साहु, लिपाँ दाँगी अपिक घजु र ज्यापुंग विराज दुगु रहेको भैलः प्याखँका गुरु रवि घजुले जानकारी दिनुभयो । प्याखँलाई रवि घजुका साथै धां गुरु भक्त बहादुर दुगु र भैलःका अर्को गुरु कृष्ण भक्त घजुलगायतले प्रशिक्षण दिनुभएको छ । प्याखँको प्रशिक्षण विधिवतरुपमा गत असार २६ गते गुरुपुर्णिमाको दिनबाट शुरु भएको थियो ।
भैलः प्याखँको प्रशिक्षण नगदेशको पुखुसीमा गरिएको छ । प्याखँ प्रदर्शनका लागि प्रशिक्षणस्थलमा विशेषरुपमा नासःद्यो (नाट्यश्वरी)को पुजा आराधना गरी द्यो तालमा नासःद्योको साधना गर्दछन । नासःद्योको साधनापछि सिद्धि गणेशको प्रांगणमा पुगेर गणेशको साधना गरी प्याखँ प्रदर्शन गरिन्छ । त्यसपछि बैशाखमा हुने बिस्काः जात्राका सिद्धि गणेशको खट नगर परिक्रमा गराउने प्रदक्षिणा मार्ग (रुट) अनुसार छ्वासःm त्वागा, लाछि, लाय्कु, कुमालाछिलगायतका नगदेशको विभिन्न टोलमा भैलः प्याखँ प्रदर्शन गरिने गुरु घजुले बताउनुभयो । यो क्रम प्रत्येक दिन साँझ चार राती निरन्तर चल्दछ ।
नगदेश प्राचिन मानव बस्ती भएको क्षेत्र हो । धार्मिक ग्रन्थहरु अनुसार नगदेश बासुकी नागको बासस्थान हो । बासुकी नागको बासस्थान भएका कारण नागदेशको रुपमा रहेको यो क्षेत्र पछि नगदेशले परिचित भएको वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले बताउनुभयो ।
यस्तै पाटनको रातो मछिन्द्रनाथलाई आसामको कामाख्याबाट नेपाल मण्डलमा ल्याउनको लागि नगदेशमा साधना गरेको जनश्रुती रहेको भैलः गुरु राजु घजुले बताउनुभयो । यही आधारमा नगदेश प्राचिन बस्ती भएको र प्राचिनकालमा नगदेशका सुखः शान्ति र दानवी शक्तिको नाशको लागि भैलः, महाकालीलगायतका देवी देवताको नाच विकास भएको घजुले बताउनुभयो ।
गुरु घजुले भैलः प्याखँ प्रदर्शन गर्न आधिकारिकरुपमा कुनै गुठी र स्थायीरुपमा कुनै आर्थिक स्रोत नभएको बताउनुभयो । यसका लागि स्थानीय नगदेशबासी सबै एकजुट भई निकाल्ने परम्परा रहेको छ ।
उहाँका अनुसार प्याखँ निकाल्ने सामूहिक निर्णय भएपछि नेवारी परम्परा अनुसार थ्वकी उठाइन्छ । थ्वकी उठाउने भनेको कुनै सामूहिक कार्य वा गुठीको भोजमा सहभागिता निश्चित गर्न घरघरबाट निश्चित परिणाममा चामल उठाउने कार्य हो । सोही अनुसार भैलः प्याखँलाई यसवर्ष एक व्यक्ति बराबर एक सय रुपैंया थ्वकी उठाएको घजुले जानकारी दिनुभयो । यसवर्ष थ्वकी दिनेको संख्या करिव एक हजार रहेको छ ।
प्याखँको परम्परा अनुसार थ्वकी दिने सबै प्याखँमा सहभागी भई भोज खाने गरिन्छ । चार दिन प्याखँ निकाल्न एक महिना अघि शुरु हुने प्रशिक्षणदेखी प्याखँ सम्पन्न नभएसम्मको सम्पूर्ण खर्च थ्वकी दिनेहरुबाट दामासाहीले व्यहोर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
यसका साथै यो वर्ष विभिन्न संघसंस्था, मनकारी व्यक्तिहरुले पनि आर्थिक एवम् भौतिक सहयोग गरिरहेको घजुले बताउनुभयो । सोही अनुसार नगदेश साँस्कृतिक पुचः दुई वटा, न्हुछे झो भजन खलःले दुई वटा, कुम्हालाछी बासुरी खलःले एक वटा र न्हापाङ्गु बासुरी खलःले एक वटा धा बाजा सहयोग गरेको घजुले जानकारी दिनुभयो । नगदेश तान्त्रिक भैलःको लागि नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने अपेक्षा रहेको घजुले बताउनुभयो ।
नगरपालिकाले नगरभित्र प्रदर्शन गरिने ऐतिहासिक, धार्मिक महत्वका विभिन्न देवी देवताका प्याखँहरु मात्र होइन जात्रा पर्वहरुको संरक्षण गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजान उद्देश्यका साथ आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सोही अनुसार नगरपालिकाले १२ वर्षपछि नगदेशमा प्रदर्शनमा आएको तान्त्रिक भैलः प्याखँलाई नगरकार्यपालिका बैठकबाट उचित आर्थिक सहयोग हुने उहाँले बताउनुभयो ।