दिव्यश्वरी प्लानिङमा गत वर्ष भएको खुकुरी प्रहारको घटनामा चक्रे मिलनको इन्कारी बयान

भक्तपुर, साउन २५
भक्तपुरको मध्यपुर थिमि–२ दिव्यश्वरी प्लानिङमा गत वर्ष भएको खुकुरी प्रहार गरेको घटनामा चक्रे मिलन भनिने मिलन गुरुङले आफ्नो संलग्नताको इन्कारी बयान दिएका छन ।
दिव्यश्वरी प्लानिङको एक रेष्टुरेन्टमा २०८१ भदौ १० गते मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको थियो । उक्त घटनामा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । मुद्दा दर्ता हुँदा चक्रे मिलन पक्राउ नपरेकोले उनलाई फरार सुचीमा राखेर मुद्दा अघि बढाएको थियो ।
हाल काठमाण्डौं प्रहरीले उनलाई पक्राउ गरेपछि भक्तपुर प्रहरीले पनि पुरानो मुद्दामा उनको संलग्नता बारे अनुसन्धान अघि बढाएको हो । सोही क्रममा सरकारी वकिलको कार्यालय भक्तपुरमा गत शुक्रबार दिएको बयानमा चक्रे मिलनले ज्यान मार्ने उद्योगको कसुरमा आफ्नो संलग्नता नरहेको यन्कारी बयान दिएका हुन ।
सरकारी वकिल स्रोतका अनुसार त्यो घटना हुँदा आफू घटनास्थलमा नभएको र आफ्नो कुनै संलग्नता पनि नभएको भनेर चक्रे मिलनले बयान दिएका हुन् । ‘म त्यहाँ थिइन भनेर इन्कारी बयान दिएका छन्,’ स्रोतले भने ।
अहिले चक्रे मिलनसहित उनको समूहका १९ जना काठमाडौं प्रहरीको हिरासतमा छन् । बयान लिएपछि भक्तपुर प्रहरीले चक्रे मिलनलाई काठमाडौं फिर्ता समेत गरिसकेको छ ।
खुकुरी प्रहार भएको घटनामा प्रहरीले सर्लाही घर भई ललितपुरको ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवासलाई पक्राउ गरेको थियो । उनले सफाइसमेत पाइसकेका छन् । खुकुरी प्रहारबाट मनिषको दुबै कोखामा चोट लागेको थियो । टाउकोमा समेत निलडाम हुने गरी कुटपिट गरेको आरोप थियो ।