शोकलाई शक्ति र हाँसोमा बदल्ने पर्व साँःपारु मनाउँदै नेवार समुदाय

????????????????????????????????????

लक्ष्मी गारु, भक्तपुर, साउन २५
वर्षदिनमा मृत्यु भएको आत्माको मोक्ष प्राप्तिको प्राथना गर्दै ख्यालठट्टा, हाँस्यव्यंग्य सहित भक्तपुरका नेवार समुदायले आईतबार धुमधामका साःँपारु (गाईजात्रा) पर्व मनाईंदैछ ।
मुलुकको अन्य भागमा भन्दा भिन्न र मौलिक शैलीमा मनाईने भक्तपुरको गाईजात्रालाई अाँसु र हाँसोको संगम जात्राका साथै दुःख, पिडा, शोकलाई हाँसोमा परिवर्तन गर्ने जात्राको सन्देश दिने पर्वका रुपमा लिइन्छ ।
यसदिन साँ(गाई) निकाल्दा आफन्तजन मृतकको सम्झनामा रुने परम्परा छ । अर्कोतर्फ ख्यालठट्टा, हाँस्यव्यंग्य, धार्मिक तथा साँस्कृति रुपम अत्यन्त महत्वपुर्ण मानिने शिव पार्वती, भैरव, देवी, राधाकृष्ण, रामायण लगायतका नाचसहित नगर परिक्रमा गरी साँःपारु मनाईन्छ । त्यसैले उपत्यकालगायत बाहिरी जिल्ला र विदेशीहरु गाईजात्रा हेर्न हजारौंको संख्यामा दर्शकहरु आउने गर्दछ ।
जनैपुर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा औपचारिक रुपमा गाईजात्रा शुरु गरिन्छ ।
जनैपुर्णिमाको साँझ शुरु भएपनि सर्वसाधारणले भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा मनाईन्छ । यसदिन मृतकको सम्झनामा गाई निकाल्नु अघि सबेरै दरवार स्क्वायरस्थित तलेजु भवानीको गाई निकाल्ने परम्परा छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासाँ(तहामचा) हो । घिन्ताङघिसीसँगै ताहासाँलाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने धार्मिक विश्वास रहेको छ ।
घिन्ताङघिसी धिमे, भुस्या, खीं, धाँ बाजाको संयुक्त ताल र लयमा एकहात लामो गोलाकार लट्ठी एक आपसमा जुधाएर नाचिन्छ । घिन्ताङघिसी समूहमा नाचिने नाच भएकोले जति बढी सहभागीको संख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि बृद्धहरु समेत सहभागी हुन्छन ।
करिब १५ फिट लामो चारवटा हरियो बाँसबाट ताहासाँ बनाईन्छ । बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासाँ बनाईन्छ । ताहासाँको शिरमा परालको सिङ र सिङ माथि पलेस्वाँ लप्ते (कमलको फुलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङखा र रङगीचङगी फुलले सजाईन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा(रङ्गिन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ ।त्यसपछि गाईको चित्र राखी द्योःगाचा (अष्टमातृकाको प्रतिक खास्तो), दुईवटा पटुका बाँधिन्छ । सिङ माथि छाता ओढाउँछ । ताहासाँ महिला र पुरुषको संकेत जनाउन हाकुपतासी, सारी र सेतो कपडाले बेरेर बिचमा जामाचा लगाइ अगाडि पछाडी मृतकको तस्बिर, भगवानको तस्बिर ऐना र रुमाल राखिन्छ ।
गाईजात्रामा कुमाले समुदायले मृतकको नाममा कालोमाटोको गाई बनाएर नगरपरिक्रमा गराईन्छ । उनीहरुको आफ्नो मौलिक पुख्यौली पेशा अनुसार माटोको आकर्षक गाई बनाएर नगरपरिक्रमा गराईने संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताउनुभयो ।
गाईजात्रामा मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीतिलीला, रामायण र श्री कृष्णा लिला प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, राधाकृष्णको रुपमा श्रृंगारी बाँसुरी वाजाका साथ वासा लुइके गरेर प्रर्दशन गरिन्छ ।


गाई निकाल्नु अघि ताहासाँ, डोको, राधाकृष्ण, महादेव पार्वती लगायत मृतकको प्रतिक संकेत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरीहरु र क्रियापुत्रलाई पण्डितले पुजा संकल्प गराई श्राद्धकर्मको विधिविधान पुरा गरी गौदान गराईन्छ । यसबेला मृतकका घरपरिवारका महिला सदस्यहरु रुने परम्परा छ ।
नेवार समुदायमा सगुन दिदाँ रुनु मृतकप्रतिको सम्मानको रुपमा लिइन्छ । सगुन पुजा सकेपछि सानो काँचो केराउ, नासपाती, काँक्रो लगायत फलफुल र दहीचिउरा टोल छरछिमेकमा बाहिर बाँडिन्छ । बाँसको नोल लगाएर ताहासाँलाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडी पटुका समातेर नगरपरिक्रमा गराईन्छ । परिक्रमा गरउँदा ताहासाँमा मृतकको तस्विरलाई हेरेर कसको ताहासाँ निकालेको थाहा पाउँछ ।
परिक्रमा गर्दा क्रियापुत्र, छोरीहरु, मृतकका परिवार, आफन्तले हातमा सुगन्धित धुप बालेर जाने परम्परा छ । गाईलाई परिक्रमा गराउँदा मृतकका परिवार र स्थानीयहरुले आफनो गच्छे अनुसार मालपुवा, पुरी, फलफुल, विस्कुट, दक्षिणा, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दानदिने परम्परा छ ।
भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट संकेत दिनेगरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने सारी, हाकुपटासी सहितको ताहासाँ र पुरुष हो भने सेतो कपडाको ताहासाँ नगरपरिक्रमा गराइन्छ । गर्भवती महिला भयो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासाँमा तल अर्को सिंङ्ग राखेर मृतकको तस्बिर सहित काखमा राखेर ल्याउने परम्परा छ ।
गाईजात्राको दिन विधिवत रुपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्नुका साथै मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकको आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पारगरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिक विश्वासले गाईजात्रा निकाल्ने गरेको हो ।
गाईजात्रामा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासाँ निकालेपछि साँःपारु सम्पन्न गर्ने परम्परा छ । भैरवको ताहासाँ ल्याउँदा लाकोलाछे टोलमा वर्षदिन दिवंगत भएका सबैको ताहासाँ भैरवको ताहासाँसँगै लानुपर्ने परम्परा छ । भैरवनाथको ताहासाँलाई नगरपरिक्रमा गराउँदा तमारी, लायकु दरवार र तचपालमा तीन तीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासाँ चुपिङघाट स्थित पुलमा लगेर बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।
भक्तपुरमा गाईजात्रा जनैपुर्णिमा देखि कृष्णाष्टमीसम्म मनाईन्छ । प्रतिपदाको दिन मुख्यरुपमा र अन्यदिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर स्थानीयलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म नगरका देवीदेवताहरु दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खटजात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, कवांचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखं लगायतका नाच प्रदर्शन गरिन्छ ।
शोक र उल्लासको संगमको रुपमा मनाइने गाईजात्रा पर्वलाई काठमाण्डौका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिँह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको इतिहास तथा साँस्कृतिक विद प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लिच्वीकालमा रमाइलोको लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा गो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाई यात्रा गर्ने चलन पुर्वमध्यकालमा शुरु भएको श्रेष्ठको भनाई छ ।
गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाईंदैन । मल्लकालमा नेपाल मण्डल काठमाण्डौं उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्रा. डा. श्रेष्ठ बताउँछन । नेवार समुदायमा भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालिन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा. डा. श्रेष्ठ बताउँछन ।
किम्वदन्ती अनुसार राजा प्रताप मल्लको छोराको मृत्यु पश्चात रानी धेरै शोकमा डुवेपछि उनलाई नगरका जनताका घरमा नि कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलनको शुरुवात भएको मानिन्छ । यतिले रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हाँस्यव्यग्य, ख्यालठट्टा प्रदर्शन गर्न राजाले आदेश दिए अनुसार गाईजात्रामा हाँस्यव्यंग्य प्रदर्शन गरिन्छ ।
प्रा.डा. श्रेष्ठले राजा जयस्थिती मल्ल भन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दावी गनुभयो ।जयस्थिती मल्लले सम्पादन गरेको गोपालवंशालीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण अनुसार लिच्छवीकालको अभिलेखमा गौयुद्ध उत्सव भनी लेखिएको पाईएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाईन्छ भन्ने मान्न सकिने उहाँको भनाई रहेको छ । उहाँले विक्रमको १४ औ शताव्दी भन्दा पहिला लिच्छविकालको अन्त्यतिर गाईजात्रा शुरु भएको मान्न सकिने आधारहरु भएको बताउनुभयो ।
यसैगरी भक्तपुरमा तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । “भक्तपुर तन्त्र विद्यायुक्त शहर हो । यहाँका हरेक साँस्कृतिक परम्पराहरु तान्तिक विधि पूर्वक मनाइन्छ,” उहाँले भन्नुभयो, “भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ गाईजात्रा मनाइन्छ ।”
भक्तपुर नगर तन्त्रको आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर मृतकको नाममा ताहासा, दोसाँ, महादेव पार्वती, वासा लाकेगुलगायत गरी नगर परिक्रमा गराईने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो । गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाएपनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको राजोपाध्यायले बताउनुभयो ।
साँःपारुको दिन मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन भने धार्मिक विश्वासले नेवार समुदायले गाईजात्रा मनाउन थालेको अर्का संस्कृतिविद एवं पुरोहित विनोदराज शर्माले बताउनुभयो ।
मृत्युको शोकसँग सम्बन्धित गाईजात्रामा मध्यकालदेखि नै हाँस्यव्यंग्य र ख्यालठट्टा शुरु भएको उहाँले बताउनुभयो । राजा प्रताप मल्लले गाईजात्रा गरेर मृत्यु सत्य हो भन्ने दर्शाउँदा रानीको मन शान्त नभएपछि हास्ँय रसको प्रयोग भएको कथा उल्लेख रहेको उहाँले बताउनुभयो । “प्रारम्भमा गाई यात्राको रुपमा मनाएको यो पर्व मध्यकालमा गाईजात्रा भएको हो । सापारुमा गाईलाई नगर परिक्रमा गराए मृत्युसंस्कार पुरा हुन्थ्यो पछि गाईसँगै विभिन्न बाजागाजा राखियो त्यसपछि यात्राबाट जात्रामा परिणत भएको हो,” शर्माले भन्नुभयो ।