भक्तपुर, साउन २४
गाईजात्रा शुरु भएको संकेत स्वरुप भक्तपुरमा शनिवार सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात जनैपुर्णिमाको भोलीपल्ट धुमधामले मनाईन्छ । भक्तपुरमा भने जनैपुर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा शुरु भएको मानिन्छ ।
वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाईने धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा शुरु भएको जनाउ दिन गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि दरबार स्क्वाय स्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेको हो ।
भक्तपुरको बहटोलबाट शुरु भएको नाच भक्तपुर नगरका दरवारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सुजमारी, तचपाल, गोमारी, सुकुलढोका, तमारी, नासमना, बंशगोल, इटाछें र खःमा लगायत क्षेत्रको परिक्रमा गरी पुनः सुकुलढोकामा पुगेर समापन भएको हो ।
धा“ बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीहरुले हातमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ । कृष्णाअस्टमीको दिनसम्म मनाईने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाच सँगै विभिन्न व्याङग्यात्मक नाटक, विभिन्न साँस्कृतिक नाचहरु प्रदर्शन गर्ने परम्परा रहेको छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाईन्छ ।