लक्ष्मी गारु, भक्तपुर, साउन २४
जनैपुर्णिमा अर्थात श्रावण शुक्ल पुर्णिमाको अवसरमा शनिवार नेवार समूदायले गुँन्हुपुन्ही पर्व मनाउँदैछन । गुँन्हुपुन्हीका दिन कुण्ड वा पोखरीमा स्नान गर्ने, हातमा जनै बान्ने, क्वाँटी खाने र भ्यागुताको पुजा गर्ने मात्र होइन भक्तपुरका नेवार समूदायमा ‘गुपु हिटी सिके वनेगु’ ( नौ वटा धारा चिन्न जाने) परम्परा पनि रहेको छ । तर आधुनिकतासँग हिटीहरु लोप हुनु र भएका हिटीहरुको पनि उचित संरक्षण नहुँदा ‘गुपु हिटी सिके वनेगु’ प्रचलन लोप भएको छ ।
भक्तपुर नगरमा १७ पुर्वाभिमुख, २९ पश्चिमाभिमुख, २ उत्तराभिमुख र २२ दक्षिणभिमुख हिटी छन । ती मध्ये पुर्वाभिमुखका नौ हिटीलाई धार्मिक तथा साँस्कृतिक रुपमा अत्यन्त महत्वपुर्ण मानिएको छ । यी नै नौ वटा हिटीमा स्नान गर्न जाने परम्परालाई ‘गुपु हिटी सिके वनेगु’ भनिन्छ ।
गुपु अर्थात नौ हिटीमा सुर्यविनायक गणेश मन्दिरको इनारे हिटी, सूर्यविनायक मन्दिर जाने ओकालोमा रहेको इनारे लुखाहिटी, भक्तपुर नगरपालिका–१ दुगुरेको स्वकी अजिमा हिटीमा, वडा नं. १ कै मेभारी हिटी पर्दछ ।
यसैगरी भक्तपुर नगरपालिका–३ नासमना दबु हिटी, तुलाछे स्थित त्रिपुरा राजदरवार भित्र रहेको त्रिपुरासुन्दरी विद्यापिठको हिटी, सुकुलढोकाको बुलुबुलु हिटीलाइ, नासमना दबु हिटी र तचपालको भिसिंद्यो हिटीलाई गुपु हिटीको रुपमा लिईन्छ ।
यी हिटीहरुको आ–आफ्नै विशेषताहरु छन । स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि(स्वाःस्वाः) अजिमालाई जल चढाई पुजा गरे दम रोग निको हुने धार्मिक विश्वास रहेको छ भने मेभारी हिटीमा स्नान गरी जल ग्रहण गर्नाले टाउको दुखाई रोग निवारण हुनुका साथै जिउभारी भई थकान हुने समस्याबाट मुक्त हुने स्थानीय ८५ वर्षिय लतंकाजी खत्रीले जानकारी दिनुभयो ।
यसैगरी त्रिपुरा राजदरवार भित्र रहेको त्रिपुरासुन्दरी विद्यापिठको हिटी, सुकुलढोकाको बुलुबुलु हिटी, नासमनाको दबु हिटी, सुर्यविनायक गणेश मन्दिर छेउको इनारे हिटी र इनारे लुखा हिटी धार्मिकले दृष्टिले अत्यन्त पवित्र हिटीको रुपमा मान्यता रहेको त्रिपुरासुन्दरी विद्यापिठको आगंद्योको मुख्य पुजारी सिद्धिवीर कर्माचार्यले बताउनुभयो ।
यी हिटीहरु कतिपय लोप भइसकेका छन भने कुनैमा पानी आउँदैन, कुनै संरक्षणको पर्खाइमा रहेका छन । स्वकी अजिमा हिटी पुरै झारपाटले पुरिएको अवस्थामा छ । मेभारी हिटीचा स्थानीय बस्ती विस्तारसँगै व्यवस्थित अवस्थामा छ । त्रिपुरा राजदरवार भित्र रहेको त्रिपुरासुन्दरी विद्यापिठको हिटीको मूहान जर्मन परियोजना लागु भएपछि सुकेर बन्द भएको स्थानीय बताउँछन ।
सुकुलढोकाको बुलुबुलु हिटी अहिले संरक्षणको पर्खाइमा छ । नासमनाको दबु हिटीको परम्परागत मुहान बन्द भएपछि अहिले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी जडान गरी सञ्चालन गरिरहेको छ । सूर्यविनायक गणेश मन्दिर छेउको इनारे हिटी सञ्चालनमा रहेको छ भने इनारे लुखाहिटीमा वर्षाको समयमा पानी आउने अरु बेला सुख्खा हुने गरेको छ । यो हिटीमा स्थानीयले प्रयोग गर्न मिल्ने गरी धारा जडान गरिएको छ ।
सँस्कृतिसँग जोडिएका हिटीमध्ये अर्को महत्वपुर्ण हिटी तचपालको भिसिंद्यो हिटीको पानीले नियमित भिसिंद्यो (भिमसेन) र गुरु दत्ताात्रयलाई स्नान गराउने परम्परा छ ।
नौ हिटी स्नान गर्ने क्रम सुर्यविनायक गणेश मन्दिरको इनारे हिटीदेखि शुरु भई क्रमशः इनारे लुखा हिटी, स्वकी अजिमा हिटी, मेभारी हिटी, नासमना हिटी, त्रिपुरासुन्दरी विद्यापिठ हिटी, बुलुबुलु हिटी हुँदैं भिसिंद्यो हिटीमा स्नान गरेपछि सम्पन्न हुन्छ ।
गुँन्हुपुन्हिमा नौ हिटीमा स्नान गर्नाले पुण्य प्राप्तीका साथै विभिन्न रोगहरुको प्रकोपबाट जोगाउने धार्मिक विश्वास रहेको छ । यसदिन हिटी माथि अवस्थित उत्तरापन्थका देवीदेवताको दर्शन गर्नाले दिवंगत भएका परिवारका सदस्यहरु सापारु(गाईजात्रा)को दिन ईश्वरीय धाममा प्रवेश पाउने धार्मिक विश्वास समेत रहेको सँस्कृतिविदहरु बताउँछन ।
गँुन्हुपुन्हीमा नौ जोर लुगा लगाएर, नौ थरीको गेडागुडी क्वाँटी खाएर, पुर्व तिर फर्केको नौ वटा हिटीमा तीर्थ स्नान ग¥यो भने सुख, शान्ति, समृद्धि भई मृत्यु पश्चात पितृ भएर बाँच्न पाइन्छ भन्ने धार्मिक मान्यता रहेको पुरातत्व, ईतिहास तथा सँस्कृतिविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । उहाँले वास्तुतन्त्र विधि अनुरुप नै हिटीको निर्माण गरिएको बताउनुभयो ।
श्रेष्ठका अनुसार नौ हिटीमा तीर्थस्नान गर्नाले यो जुनीमा सुख, शान्ति, समृद्धी प्राप्त गर्नुका साथै परलोक गमन भएपछि मोक्ष प्राप्त हुन्छ । व्रम्हत्व, विष्णुत्व, रुद्र्रोत्व प्राप्त भई कैलाश र स्वर्गमा बास पाउँछ भन्ने धार्मिक मान्यता रहेको छ । त्यही धर्म पाउन गुँन्हुपन्हीको दिन पुर्वाभिमुख हेरेका विषेश नौ वटा हिटीमा स्नान गर्न जाने परम्परा रही आएको प्रा. डा. श्रेष्ठले बताउनुभयो ।
यसलाई स्थानीय जनजीवनमा ‘गुपु हिटि सिकवानेगु’ भनी नौ वटा हिटीमा तीर्थ स्नान गर्न जाने विकास भएको हो । भक्तपुरमा ५० को दशकसम्म प्रचलनमा रहेको यो परम्परा आधुनिकता र बढ्दो शहरीकरणसँगै अहिले लोप भइसकेको छ ।
परापुर्वकालदेखि यहाँको हिटिहरुमा स्थानीयहरु बिहान नित्य स्नान गर्ने, मुख धुने, देवीदेवताको लागि पवित्र जल चढाउने, तपर्ण दिने, लुगा धुने जस्ता कार्यमा प्रयोग हुँदै आएको पाईन्छ । पानी जीवन भएकाले मानिसको जनजीवनसँग जोडेर विभिन्न ठाउँमा हिटी निर्माण गरेको देखिन्छ ।
हिटीहरुको संरक्षण स्थानीय स्तरमा होस भन्ने हेतुले पनि हिटीहरुलाई धार्मिक परम्परा र महत्वसँग जोडेर स्थापना गर्ने प्रचलन रहेको पाईन्छ । यससँगै विभिन्न धार्मिक मान्यता विकास हुने क्रममा भक्तपुरमा ‘गुपु हिटी सिकेवनेग’ु परम्परा विकास भएको पाइन्छ । यस्ता धार्मिक महत्वका यस्ता परम्पराहरुलाई जिवित बनाउन सके हिटीहरुको संरक्षण मात्र होइन दैनिक जीवनसमेत सहज हुने देखिन्छ ।