लक्ष्मी गारु, भक्तपुर, साउन २४
श्रावण शुक्ल पुर्णिमाको अवसरमा शनिवार हर्षोल्लासका साथ नेवार समूदायले गुँन्हुपुन्ही, पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी पर्व धुमधामले मनाउँदैछ ।
आज तागाधारीले एकाबिहानै नजिकको नदि, तलाउ, कुवा, पोखरी, कुण्डमा स्नानगरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) लगाईन्छ । वैदिक परम्पराअनुसार तागाधारीले लगाउने जनैलाई ब्रम्हसुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । जनैमा दुई शिखा हुन्छ, जसमध्ये एउटा शिखाका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर र अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानको रुपमा लिईन्छ । जनै लगाउनेले माछा, मासु, मदिरा सेवन गर्न नहुने विधान रहेको छ ।
यसै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्र र पितृलाई पनि तर्पण गरिने भएकाले नै जनैपुर्णिमाको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको हो ।
यसदिन गुरु पुरोहितको हातबाट मन्त्रोच्चारणगरी तयार गरेको रक्षासुत्र डोरो बाँध्ने प्रचलन पनि रहेको छ । गुरु पुरोहितहरूले मानव रक्षाका लागि जप, तप र पूजा गरी तयार गरेको डोरो ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ मन्त्रोच्चारणका साथ यजमानहरुको हातको नाडीमा बाँधिदिने गर्दछ । यसरी डोरो बाँध्ने प्रचलनले आजको दिनलाई रक्षाबन्धन पनि भनिन्छ ।
नेवार समुदायले भने पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्व सहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ। विषेशत क्षेत्री बाहुनहरुले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भएपनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद ओम धौभडेलले बताए। नेवार समुदायमा डोरो बाँध्दा बली राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरि महिलाको बाँया र पुरुषको दायाँ हातमा डोरो बाध्ने गरिन्छ ।
यसै दिन कम्तीमा नौ प्रकारका विभिन्न गेडागुडीहरुको मिश्रण क्वाँटी खाने प्रचलन समेत रहेको छ । विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खानाले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दुषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।
नेवार समुदायको गुँन्हुपुन्ही
श्रावण शुक्ल पुर्णिमालाई नेवार समुदायले भने गुँन्हुपुन्ही पर्वको रुपमा मनाईन्छ । नेपाल सम्वतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौं महिना हो । गुँलामा पर्ने र विशेष गरी नौ थरी गेडागुडीको मिश्रणयुक्त क्वाँटी खाने पर्व भएकाले यसको नाम गुँन्हुपुन्ही रहन गएको संस्कृतिकर्मीहरुको भनाई छ ।
यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ ।
रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षातको मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पुर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन यसको एउटा उदाहरण श्रावण शुक्ल पुर्णिमामा क्वाँटी खाने प्रचलन हो,” उहाँले भन्नुभयो ।
भक्तपुरका नेवार समूदायमा जनैपुर्णिमाको दिन गुपु हिटी सिके वनेगु अर्थात नौ वटा धारा चिन्न जाने परम्परा रहेको छ । यसको लागि नौ जोर नै लुगा लगाउने प्रचलन पनि रहेको छ ।
भक्तपुरमा रहेका दर्जनौ ऐतिहासिक एवम् धार्मिक तथा साँस्कृतिक हिटीहरु (धाराहरु) मध्ये पुर्वाभिमुख ९ वटा विशेष हिटीमा यो मेला लाग्दछ । गुँन्हुपुन्ही अर्थात जनै पुर्णिमामा नौ हिटीमा स्नान गर्नाले पुण्य प्राप्तीका साथै विभिन्न रोगहरुको प्रकोपबाट जोगाउने धार्मिक विश्वास रहेको छ । यसदिन हिटी माथि अवस्थित उत्तरापन्थका देवीदेवताको दर्शन गर्नाले दिवंगत भएका परिवारका सदस्यहरु सापारु(गाईजात्रा)को दिन ईश्वरीय धाममा प्रवेश पाउने धार्मिक विश्वास समेत रहेको सँस्कृतिविदहरु बताउँछन ।
नौ हिटीको स्नान सुर्यविनायक गणेश मन्दिरको इनारे हिटीदेखि शुरु भई क्रमशः इनारे लुखा हिटी, स्वकी अजिमा हिटी, मेभारी हिटी, नासमना हिटी, त्रिपुरासुन्दरी विद्यापिठ हिटी, भुईसाहुको घरको हिटी, बुलुबुलु हिटी र भिसिंद्यो हिटी पुगी समापन हुन्छ ।
भ्यागुताको पुजा
आजै नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु¥याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ। कृषकहरु प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन ।
वर्षा गराउने दुत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उव्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमिको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारी लगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पुजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा. डा. श्रेष्ठ बताउँछन । जसलाई स्थानिय भाषामा व्या“चा जाः नक वानेगु भनिन्छ ।
“मानिसको महान गुरुहरु मध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रुपमा लिई नेवार समुदायले भ्यागुता पुजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो,” उहाँले भन्नुभयो ।
भक्तपुरका विभिन्न कुण्डमा मेला
जनैपुर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्ड र पोखरीहरुमा मेला लागेको छ । भगवान महादेवको बासस्थान रहेको मान्यताले रत्नचुडेश्वर महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचिन धल्चा पुखुः(कालदह)मा बिहानैदेखी स्नान गर्ने भक्तजनहरुको घुईंचो लागेको हो ।
गोसाईंकुण्डको प्रतिक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरुको विशेष मेला लाग्दछ । झाँक्रीहरु परम्परागत भेषभुषा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउँछन । जनैपुर्णिमाको दिन कुण्डहरुमा स्नान गरी महादेवको दर्शन गरे लामा झाँक्रीगुरुहरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।
रसुवाको गोसाईंकुण्ड जान नसक्नेहरुले रत्नचुडेश्वर महादेव पोखरीमा स्नान गरेपनि गोसाईंकुण्डमा नुहाएसरी पुण्य प्राप्ती हुने र लामा झाँक्री गुरुहरुको मन्त्र सिद्धि हुने विश्वास रहेको छ ।
लोककथन अनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाईंकुण्ड जानेक्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासको आधारमा जनैपुर्णिमाको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गोसाईंकुण्ड जान नसक्ने भक्तजनहरुले यो कुण्डमा स्नान गरे गोसाईंकुण्डमा स्नान गरे सरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”
रत्नचुडेश्वर महादेव पोखरीको मेला व्यवस्थापनका लागि चाँगुनारायण नगरपालिका वडा नं. ६ कार्यालयले विशेष तयारी गरेको वडाअध्यक्ष धनबहादुर लामाले बताउनुभयो । नगरकोट भ्रमण वर्ष २०८२ लाई समेत लक्षित गरी यसवर्ष मेलाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । मेलाको लागि पोखरी परिसरको सरसफाई, स्वयम् सेवक व्यवस्थापन लगायतका कार्य गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी गोसाईकुण्डकै प्रतिक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भिड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाईंकुण्ड गए सरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाईन्छ ।
कालदहमा स्नानपछि भक्तजनहरु जनै फेर्ने र रक्षा बन्धनको प्रतिक हातमा डोरो बाँध्ने गर्दछन ।
मधेशी समुदायको राखी
आजै मधेशी समुदायले भाई वहिनी विचको प्रेमको प्रतिकको रुपमा रहेको राखी पर्व धुमधामले मनाईन्छ । मधेशी समुदायका दिदी बहिनीहरुले आ–आफ्ना दाजु भाईको दिर्घायुको कामना गर्दै रक्षा कवचको प्रतिक हातमा रंगीविरंगी राखी बाँधिदिएर राखी पर्व मनाउँदै छन ।
दिदीबहिनीले दाजुभाईलाई नाडीमा राखी बाँधेर दीर्घायू तथा प्रगतिको कामना गर्दै आशिष दिने गर्छिन भने दाजुभाईले पनि सक्दो उपहार दिने प्रचलन छ ।
पछिल्लो समय यो संस्कृति काठमाडौं उपत्यका लगायत पहाडमा पनि बिस्तार भएको छ। आधुनिक प्रविधिको विकाससँगै एक समुदायको संस्कृती अन्य समुदायले पनि अनुसरण गर्ने क्रममा राखी बाँध्ने चलन मधेशी बाहेकका अन्य समुदायले पनि अनुशरण गर्न थालेको हो ।
राखी बाँध्ने संस्कृति दिदीबहिनी र दाजुभाईबीचको आपसी प्रेम, सद्भाव बढाउनुका साथै एक अर्कामा भातृत्वको भावना जागृत गराउने पर्व हो। मधेशी बाहेकका अन्य समुदायमा यो संस्कृति विशेषगरी युवा पुस्तामा लोकप्रिय हुँदै गएको छ। यसैको परिणाम राखी खरिद गर्न अन्य समुदायका कलेज पढ्ने उमेर समूहका युवतीहरु बढी आउने गरेको सुकलढोकामा राखी बेच्दै आइरहेकी सुदर्शना श्रेष्ठले जानकारी दिनुभयो ।
पहाडी समुदायमा दाजुभाईको दिर्घायुको कामना गर्दै तिहारमा भाईटिका गरेजस्तै मधेसी समुदायमा राखी बाँध्ने संस्कृति रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताए। उनले राखी बाँध्ने संस्कृति हाम्रै नेपालका मिथिलाञ्चल लगायतका तराई– मधेश क्षेत्रको संस्कृति भएकोले बिस्तारै अन्य समुदायमा पनि यसको प्रभाव बढ्दै जानु सामाजिक सद्भावका लागि उत्तम भएको बताउनुभयो ।