भक्तपुर, साउन २१
काठमाण्डौं प्रहरीको हिरासतमा रहेका चक्रे मिलन भनिने मिलन गुरूङमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने तयारी गरेको छ । उनी विरुद्ध भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गर्न लागेको हो ।
प्रहरीले भक्तपुरको सानोथिमिमा करिव एक वर्ष अघि भएको एउटा घटनामा चक्रे विरुद्ध अनुसन्धान अघि बढाउन लागेको हो । प्रहरी स्रोतका अनुसार २०८१ भदौ १० गते मध्यपुर थिमि नगरपालिका–२, सानोथिमि दिव्यश्वरी प्लानिङमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा मनिष रायमाझी भन्ने व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको थियो । खुकुरी प्रहारबाट मनिषको दुबै कोखामा चोट लागेको थियो । टाउकोमा समेत निलडाम हुने गरी कुटपिट गरेको आरोप थियो ।
सो घटनामा सर्लाही घर भई महालक्ष्मी नगरपालिका ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवास पक्राउ परेका थिए । सरकारी वकिल कार्यालय भक्तपुरले अजितलाई प्रतिवादी बनाएर ज्यान मार्ने उद्योगमा मुद्दा चलाएपनि अजितले उल्टै घाइते भएका मनिषलाई प्रहरीकहाँ पु¥याइदिएको र त्यहाँबाट प्रहरीले अस्पताल पु¥याएको बयान दिएका थिए ।
उक्त घटनामा सरकारी वकिलले २०८१ असोज ४ गते भक्तपुर जिल्ला अदलातमा मुद्दा दायर गरेको थियो । गत चैत्र २८ गते अजितविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा जिल्ला न्यायाधीश दिलिपराज पन्तको इजलासले दाबी नपुग्ने भनेर अन्तिम फैसला गरिसकेको छ ।
सो घटनाको अनुसन्धानको क्रममा चक्रे मिलनको नाम जोडिएको थियो । मनिषले फेसबुक स्टाटसमार्फत चक्रे मिलनलाई गाली गरेका कारण चक्रे मिलनका मानिसहरूले आफुमाथि कुटपिट गरेको आरोप लगाएको थियो ।
घटनास्थलको सिसिटिभी फुटेजमा अजितले चक्रे मिलनलाई मनिषको लोकेशन बताएको आशंका देखिएको थियो । घाइते भएका मनिषले पनि सरकारी वकिल समक्ष गरेको कागजमा अजित खवासले सूचना दिएको हुनसक्ने बताएका थिए ।
त्यतिबेला चक्रे मिलनको नाम प्रतिवादी र पीडित दुबै जनाले खुलाएको भएपनि प्रहरीले प्रतिवादी बनाइएको भने थिएन । चक्रे मिलनको तीन पुस्ते विवरणसहित यकिन वतन नखुलेको र पक्राउ पनि नपरेको भन्दै मुद्दा अघि बढाएको थिएन ।
हाल चक्रे मिलनसहित १९ जना काठमाण्डौं प्रहरी परिसरको हिरासतमा छन् । मानिसमा त्रास फैलाउन खोजेको, होहल्ला गरेको, बाटो छेकेर प्रदर्शन गरेको आरोप लगाउँदै प्रहरीले उनलाई साउन १५ गते मध्यराति महाराजगन्जस्थित साम्बाला होटलमा जन्म दिन मनाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले सुरूमा ४७ जनालाई पक्राउ गरेतापनि पछि १९ जनामाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अरुलाई छाडेको थियो ।