खेलकुद मन्त्री चौधरीद्धारा मध्यपुर थिमिका खेल पूर्वाधारको अवलोकन

भक्तपुर, साउन २१
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मंगलवार मध्यपुर थिमिका विभिन्न खेलकुद पूर्वाधारको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री चौधरीले सो अवसरमा गणेशमान स्मृति अन्र्तराष्ट्रिय रंगशाला निर्माणको प्रस्तावित स्थलको समेत अवलोकन गर्नुभएको थियो ।
मन्त्री चौधरीले मध्यपुर थिमि–२ मनोहरामा गणेशमान स्मृति अन्र्तराष्ट्रिय रंगशाला निर्माणका प्रस्तावित क्षेत्रको अवलोकन गरी जानकारी लिएको नेपाल लोकतान्त्रिक खेलकुद महासंघ बागमती अध्यक्ष एवम् नेपाली कांग्रेस भक्तपुरका नेता अष्ट कवेले जानकारी दिनुभयो ।


सो अवसरमा मन्त्री चौधरीले प्रस्तावित रंगशाला निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको कवेले बताउनुभयो ।
यस्तै मन्त्री चौधरीले मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित क्लव मध्यपुरको खेल पूर्वाधार र मध्यपुर युथ एशोसियसनको सानोथिमिस्थित फुटबल मैदानको पनि अवलोकन गर्नुभएको नेपाल लोकतान्त्रिक खेलकुद महासंघ भक्तपुर अध्यक्ष सुदिप डंगोलले जानकारी दिनुभयो ।
अवलोकनपछि मन्त्री चौधरीसँग कवे, डंगोल र मध्यपुर युथ एशोसियसन अध्यक्ष उपेन्द्रमान सिंह, नेपाल लोकतान्त्रिक खेलकुद महासंघ भक्तपुरका पदाधिकारीहरुले भक्तपुरमा खेल पूर्वाधारको विकासका बारेमा छलफल गरेको थियो ।