भक्तपुर, साउन २०
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोमवार प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मध्यपुर थिमि नगरपालिका–५ बस्ने ३७ वर्षीय बाबुराजा प्रजापति समेत ४ जना रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाईस थान १, डिजिटल तास खेलाउने डिभाईसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान समेत बरामद गरेको जनाएको छ ।
यस्तै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।