भक्तपुर, साउन १९
मध्यपुर थिमिको कला, संस्कृति, प्राचीन सम्पदाको बारेमा जानकारी दिने उद्देश्यले विनायक शिक्षा निकेतन ईङ्गलिस स्कुलले सोमवार द युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया क्यानाडाका बिद्यार्थीहरूको एक टोलीलाई साँस्कृतिक पदयात्रा गराएको छ । विनायकले युनिभर्सिटीका १५ जना बिद्यार्थी र ५ जना शिक्षक गरि २० जनाको टोलीलाई मध्यपुर थिमिको सम्पदाहरुको अवलोकन गराईएको हो ।
शंखधरचोकबाट शुरु भएको सम्पदा पदयात्रा बालकुमारी, लायकु, शिवाटोल, दुईपोखरी, दिगुटोल, भुँलाखेल, तुलननि, कुमाननी, वाचुननी, नासननी, चपाचो, बाहाखा बजारलगायतको अवलोकन गरी विनायक स्कुलमा पुगेर समापन भएको थियो । पदयात्रा पश्चात् सहभागी टोलीलाई नेवारी परम्परागत खानाको बारे जानकारी दिने उद्देश्यले नेवारी भोज समेतको आयोजना गरेको थियो ।
पदयात्राको शुभारम्भ गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरमा पर्यटन विकास गर्न नगरपालिकाले विभिन्न समयमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको बताउनुभयो । उहाँले आगामी दशै तिहार लगत्तै नगरपालिकाले नगरको पर्यटन विकास गर्न ‘गन्तव्य मध्यपुर’ कार्यक्रम गर्न लागेको समेत जानकारी दिनुभयो ।
आयोजक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयको अन्तराष्ट्रिय साँस्कृतिक आदानप्रदान र विदेशस्थित शैक्षिक संस्थाहरुसँगको भगिनी सम्बन्धलाई मध्यपुर थिमिको साँस्कृतिक, ऐतिहासिक पक्षको प्रचारमा उपयोग गरी यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरेको जानकारी दिनुभयो ।
पदयात्रामा मध्यपुर पर्यटन बिकास समिति, रोटरी क्लव अफ मध्यपुर, ईन्ट्राक्ट क्लव, स्काउटलगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यसअघि टोलीलाई शंखधरचोकमा नगरप्रमुख श्रेष्ठ, आयोजक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रविक्रम प्रजापतिले फुलमाला, फुलगुच्छा र ढोसल्लाले स्वागत गर्नुभएको थियो ।