भक्तपुर, साउन १८
पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिताको उपाधि जितेको छ । सिनियर बुद्धिचाल खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा सम्पन्न एक दिने प्रतियोगितामा ५० वर्ष माथिका ४२ प्रतिस्पर्धी मध्ये उत्कृष्ट प्रदर्शन गर्दै बद्रीलालले उपाधि जितेका हो ।
काठमाण्डौँमा सम्पन्न उक्त प्रतियोगितामा ७ चरणका खेलहरु भएका थिए । प्रतियोगितामा भक्तपुरका पुरुषोत्तम दुवाल द्वितीय र राजेश कक्षपति तृतिय भए ।
यस्तै ललितपुरका राजेन्द्र बज्राचार्य चौथो, काठमाण्डौँका सीएम भगवती प्रसाद शर्मा पाँचौं, भक्तपुरका गणेशमान दुवाल छैठौँ, जगन्नाथ ताम्राकार सातौं, काठमाडौँका आशा नारायण लवट आठौँ, महेश्वरलाल डंगोल नवौं र जनार्दन श्रेष्ठ दशौं स्थानमा रहे ।
यसैगरी ६० वर्ष माथिको उत्कृष्ट खेलाडी पूर्वनेपाल च्याम्पियन सिएमए नविन तण्डुकार, उत्कृष्ट २५ औं झापा जिल्लाका कृष्ण सिग्देल र १७०० रेटिङ मुनि सिरहाका राज नारायण यादव उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भए र
फिडे इभेन्ट कोड ४३२५३९ रहेको प्रतियोगितालाई ललितपुरका सानुराज बज्राचार्यले निर्देशन गरेका थिए भने भक्तपुरका आईए ज्ञानेन्द्र खाइजुले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजेता खेलाडीहरुलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे । प्रतियोगितामा दशौँ स्थानसम्म प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको थियो ।