भक्तपुर, साउन १७
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमा नै राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनको उद्घाटन कार्यक्रममा सहमहामन्त्री परियारले संविधान संशोधन गरेर भएपनि पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेको बताउँदैं त्यसलाई सच्याउन कांग्रेस एमाले गठबन्धन सरकार निर्माण गर्ने बेला भएको सहमति अनुसार संविधान संशोधन गर्ने क्रममा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरिएको निर्णय स्वागत योग्य भएको बताउनुभयो । उहाँले त्यस्तै निर्णय कांग्रेसले पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
“पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उहाँबा बारेमा एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय हो,” उहाँले भन्नुभयो, “कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ ।”
उहाँले नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी २०८३ मंसिर उपयुक्त समय हुने बताउनुभयो । कांग्रेसको वर्तमान नेतृत्वको कार्यकाल २०८२ मंसिरमा सकिँदैछ । तर महाधिवेशनको तयारी शुरु नभएको अवस्थामा मंसिरमा महाधिवेशन सम्भव नभएकोले उहाँले एक वर्ष म्याद थपेर २०८३ मंसिरमा महाधिवेशन गर्न सकिने धारणा राख्नु भएको हो ।
“अहिलेको अवस्थामा २०८२ मंसिरमा महाधिवेशन सम्भव छैन । विधान अनुसार एक वर्ष थप गर्न सकिन्छ । २०८३ मंसिरमा महाधिवेशन गर्न सके २०८४ बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस पुरा तयारीका साथ जान सकिन्छ,“ उहाँले भन्नुभयो, “संविधान दिएको ६ महिनाको सुविधामा जाने हो भने २०८४ को बैशाख पुग्छ । २०८४ बैशाखमा महाधिवेशन गर्नु उपयुक्त र सम्भव हुन्न ।”
उहाँले रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानलाई अवैधानिक र अराजनैतिक गतिविधि बताउनुभयो । “अदालतको आदेशले थुनामा रहेका रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीmे अराजनैतिक र अवैधानिक गतिविधि गरिरहेको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले कांग्रेसका नेताहरु र केन्द्रीय समितिले यसो गरेन उसो गरेन भनी गुनासो गर्नुभन्दा पहिले आफुले के गरिरहेका छु भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले कांग्रेसका हरेक नेता कार्यकर्ताले पार्टीको विधान अनुसार आफुले पाएको जिम्मेवारी इमान्दारिताका साथ निभाउन सके पार्टी स्वतः बलियो, संगठित बन्ने बताउनुभयो ।
नेपाली कांग्रेस सूर्यविनायक नगरसमिति सभापति निशान ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर, महेश श्रेष्ठ, क्षेत्रीय सभापतिहरु भेषबहादुर कार्की र जीवन खत्री, प्रदेश सभा क्षेत्र नं. २ (क)का सभापति प्रदिप कार्की, भक्तपुर नगरसमिति सभापति राजेन्द्र तमाखू, बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेललगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनमा नेपाली काग्रेस सूर्यविनायक नगरसमितिका १० वटा वडा समितिका पदाधिकारी, वडाका क्षेत्रीय प्रतिनिधिहरु, भातृ एवम् शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु, सूर्यविनायक भूगोलबाट प्रतिनिधित्व गर्ने पार्टीका विभिन्न कमिटीमा रहेका प्रतिनिधिहरु समेत गरी करिव २५० जनाको सहभागिता रहेको सभापति ढुंगेलले जानकारी दिनुभयो ।
सम्मेलनको बन्दसत्रमा सचिवको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरी भावी कार्यनीति समेत पारित गर्नेछ । साथै बन्दसत्रमा सहभागीहरुलाई ५ समूहमा विभाजन गरी विभिन्न विषयमा छलफल गराईने र उक्त छलफलको निष्कर्षसहित पार्टीको आगामी कार्यनीति, चुनावी रणनीति तय गरिने ढुंगेलले बताउनुभयो ।