भक्तपुर, साउन १६
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा करिव साढे दुई करोड नाफा भएको जनाएको छ । क्यानको बिहिवार मुलपानीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकपछि एनपिएलको आयव्यय विवरण सार्वजनिक गर्दै कुल २ करोड ४६ लाख नाफा भएको जनाएको हो ।
एनपिएलमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको क्यानले विज्ञप्ती मार्फत जानकारी दिएको छ । यसअघि क्यानले एनपिएलको आयव्यय विवरण सार्वजनिक नगरेको भन्दै आलोचना हुँदैं आएको छ । क्यानले प्रतियोगिता सम्पन्न भएको झण्डै ९ महिनापछि आयव्यय विवरण सार्वजनिक गरेको हो ।
क्यानका अनुसार एनपिएल आयोजनाको लागि कुल २० करोड १५ लाख खर्च भएको छ । फ्रेन्चाइज टोलीलाई टिकट र कमर्सियल राईटबाट उठेको रकमबाट १५ प्रतिशत कर काटेर उठेको रकमको ५० प्रतिशत प्रदान गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ८ फ्रेन्चाइज टोलीले कुल ४ करोड ३७ लाख प्राप्त गरे ।
क्यानका प्रत्येक प्रदेश संघलाई १० लाख प्रदान गरिने भने अनुरुप ७ प्रदेशलाई कुल ७० लाख प्रदान गरिएको छ । त्यो बाँडफाँड अगाडि क्यानले खुद ७ करोड ५३ लाख आय गरेको जनाएको छ ।
लामा अनुसार एनपिएलमा टिकट बिक्रिबाट ४ करोड २२ लाख ६५ हजार १५८, कर्मशियल राइट्सबाट ६ करोड ६ लाख ५३ हजार ५९४ रुपैंया आम्दानी भएको छ ।
एनपिएलको विषयमा धेरै विषयसँगैं खर्च आम्दानीको विषय चर्चामा थियो । क्यान भित्र पनि आयव्ययको बारेमा प्रश्न उठेको थियो । जसको छानबिन युवा तथा खेलकुद मन्त्रालयले पनि गरिरहेको छ । यसैबीच क्यानले हिसाब सार्वजनिक गरेको हो ।
आयव्यय विवरण सार्वजनिक भएपनि बैठकबाट अनुमोदन हुन बाँकी रहेको बताइएको छ । बैठकमा सहभागीहरुले हिसाब अध्ययनका लागि समय माग गरेपछि अनुमोदन हुन बाँकी रहेको हो ।
क्यान दोस्रो एनपिएलको तयारीमा जुटिसकेको छ । यसबाहेक अन्य विषयको जानकारी केहि दिनमा गराउने पनि प्रवक्ता छुम्पी लामाले बताए ।