भक्तपुर, साउन १६
आइसीसी महिला टवान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने निर्णय गरेको हो ।
प्रतियोगितामा आइसीसीको विभिन्न क्षेत्रीय समिति र महादेशबाट छनोट भएका १० टोलीको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने आइसीसीले जनाएको छ ।
उक्त छनोट प्रतियोगिता आगामी सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगिताको लागि एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपाल छनोट भइसकेका छन् । नेपाल गत मे मा थाइल्याण्डमा सम्पन्न प्रतियोगिताबाट विश्वकप ग्लोबल छनोटका लागि छनोट भएको हो ।
प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेशले सन् २०२४ को महिला ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन । त्यस्तै अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ ।
बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन् । जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी नै छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने उक्त प्रतियोगितामा सुपर सिक्स हुँदैं फाइनल खेल हुने छ ।
यसैबीच, इङ्गल्याण्ड र वेल्समा हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ को तालिका पहिले नै जारी भइसकेको छ । विश्व कप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ । २४ दिनमा ३३ खेल ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्ड सहित ७ वटा मैदानमा हुनेछ ।