भक्तपुर, साउन १५
रुपन्देहीको सदरमुकाम भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम अपचलन गरेको आरोपमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका ३४ वर्षीय अशोक केसीलाई भक्तपुर प्रहरीले मध्यपुर थिमि–३, गठ्ठाघरबाट बुधवार पक्राउ गरेको छ ।
पक्राउ परेका केसी मार्गदर्शनका सञ्चालक समिति अध्यक्ष हुन । केसी विगत ६ वर्षदेखी मार्गदर्शन सहकारीको वचत अपचलन गरेर फरार थिए । उनी विरुद्ध प्रहरीले २० वैशाख ०८१ मा नै पक्राउ पुर्जी जारी गरेको थियो । उनीसहितका सञ्चालकहरुले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ ।
यसैगरी सोही घटनामा संलग्न भएको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चितवनका रामहरि सिलवाल काठमाण्डौंबाट बिहिवार पक्राउ गरेको छ ।
सिलवाल पेशाले कलेज सञ्चालक हुन । उनी हिसानका उपाध्यक्ष समेत हुन् । सिलवाल मार्गदर्शन सहकारीका सञ्चालक समिति सदस्य हुन । पत्रकारिता र एमालेको राजनीतिमा समेत सक्रिय सिलवाल यसअघि एमाले चितवन काठमाडौं सम्पर्क मन्चको अध्यक्ष र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत थिए ।
पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि रुपन्देही पठाएको छ ।