पोखराको गगनगौंडामा भेटिए सिन्धुलीका हायू परिवारका १६ जना

भक्तपुर, साउन १२
सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडामा भेटिएका छन् । बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा उनीहरु भेटिएका हुन् । ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उहाँले भन्नुभयो । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उहाँले बताउनुभयो ।
उनीहरू गत शनिबार नै पोखरा पुगेर लेकसाइडस्थित जननी होटलमा तीन वटा कोठा लिएर बसेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।