भक्तपुर, साउन ९
नेवार समूदायले एक महिना धुमधामका साथ मनाईने गुलाँपर्वको अवसरमा यसवर्ष पनि मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञानमाला भजन खलःले गुँला धर्म सेवा परिक्रमा आयोजना गरेको छ ।
स्थानीय चिवाःद्यो परिसरबाट शुरु भई एक महिनासम्म चल्ने गुँला धर्म सेवा परिक्रमाका क्रममा दैनिक बुद्धको ज्ञानमाला भजन गाउँदैं लोहकिल्थली र सानोथिमिका विभिन्न मठमन्दिरहरुको परिक्रमा गरिने आयोजक दिव्यश्वरी ज्ञानमाला भजन खलःका अध्यक्ष अष्टबहादुर कवेले बताउनुभयो ।
गुँला धर्म सेवा परिक्रमाका क्रममा दैनिकरुपमा स्थानीय बुद्धका चिवाःद्यो, सिद्धिकाली मन्दिर, कोशिना गणेश, सिद्धि गणेश, दिव्यश्वरी, लोकेश्वर, दक्षिणकाली, सरस्वती मन्दिर, शाक्यमुनी बुद्ध, नाट्येश्वरी, रामेश्वर मन्दिर, नवदुर्गा मन्दिरको परिक्रमा गरिने छ ।
यसैगरी गुलाँ पर्वकै अवसरमा साउन १३ गते नागपञ्चमीको दिन भक्तपुरको चाँगुनारायण, साउन १४ गते बुधवार साँखुको बज्रयोगिनी, साउन २१ गते बुघबार काभ्रेपलाञ्चोकको नमःबुद्धको परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष कवेले जानकारी दिनुभयो ।
यस्तै साउन २५ गते गाइजात्राको दिन स्थानीय सबै देवीदेवताहरुको परिक्रमा गरिने छ । साउन २८ गते बुधवार ललितपुरको बाडेगाउँस्थित श्वेतभैरवको परिक्रमा हुनेछ । भदौ ४ गते बुधवार ललितपुरको बुंगमतीस्थित मच्छिन्द्रनाथको परिक्रमा गर्ने गुँला धर्म सेवा परिक्रमाको समापान भदौ ८ गते स्वयम्भुनाथको परिक्रमासँगै हुने अध्यक्ष कवेले जानकारी दिनुभयो ।
गुँला धर्म सेवा परिक्रमाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोलले वडा नं. १ को ऐतिहासिक नेवाः बस्तीमा विगत तीन वर्षदेखी निरन्तर सञ्चालन हुँदैं आएको गुँला धर्म सेवा परिक्रमा मध्यपुर थिमि क्षेत्रमा वडा नं. १ को पहिचानको रुपमा स्थापित हुँदैं गएको बताउनुभयो । उहाँले यस कार्यलाई निरन्तरता दिन वडा र नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
ज्ञानमाला भजनका गुरु गणेशराम प्रजापतिले मध्यपुर थिमि वडा नं. १ मा १६ वर्ष अघि शुरु भएको बिस्काःजात्रा यहाँको सँस्कृतिको रुपमा स्थापित हुँदैं गएको चर्चा गर्दै गुँला धर्म सेवा परिक्रमालाई पनि सँस्कृतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।