भक्तपुर, साउन ९
एक महिनासम्म विभिन्न चैत्यहरुको परिक्रमा गरी मनाईने एक महिने गुँला पर्व आजदेखी शुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाईने गर्दछ । यसवर्ष साउन ९ गतेदेखी भाद्र ८ गतेसम्म गुँला पर्व मनाईने छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवतको नवौं महिनामा मनाईने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ ।
गुँला पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भएता पनि अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गरेको छ । गुँला पर्वको अवसरमा नगरका बहाः, बही, चैत्य लगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
गुँला पर्वमा बौद्धमार्गीहरु दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको समेत परिक्रमा गर्ने गर्दछन् ।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजा सहित गुँला पर्व मनाउने प्रचलनमा बृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय ईष्टदेवता, गणेश, भिमसेन, भैरव र अष्टमाट्रिका लगायतका देवी देवताहरुको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्वी बाहेकका समुदाय समेत गुँला पर्वको अवसरमा चैत्यहरुको परिक्रमा गर्न जान थालेका छन ।