भक्तपुर, साउन ८
भक्तपुरको मध्यपुर थिमि ८ सिन्टिटारमा बिहिवार बिहान मृतावस्थामा भेटिएका दिदीबहिनीले राती २ बजे टिकटक बनाएको भेटिएको छ । प्रहरीले उनीहरुको मोवाइल बरामद गरी अनुसन्धानको क्रममा राती २ बजे टिकटक बनाएको फेला परेको प्रहरी स्रोतले जानकारी दिए । उक्त टिकटकमा उनीहरुले आत्महत्या गर्न प्रयोग गरेको डोरी समेत देखिएको छ ।
सिन्टिटारस्थित एक घरमा डेरागरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की दिदीबहिनी १७ वर्षिया मेनुका कँडेल र १५ वर्षिया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै नाइलनको डोरीमा झुण्डिएर मृतावस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार ती दुई दिदीबहिनी करिव ३ साता अघि भारतको मुब्बईबाट भागेर नेपाल आइ बोदेको सिन्टिटारमा डेरा गरी बसेका थिए । उनीहरुका आमा–बाबु भारतको मुम्बईमा छन् । उनीहरू १०–१५ वर्षदेखि नै भारतमा काम गर्दै आएका थिए । मृतक मेनुका र सिर्जना पनि भारतमै हुर्किएका थिए ।
अनुसन्धानको क्रममा मुम्बईमा मेनुका र सिर्जना दुवै जना कम्युटर सिक्दै गरेको खुलेको छ । करिव ३ साता अघि उनीहरु सम्पर्कविहिन भएपछि परिवारले प्रहरीलाई खबर गरेको र भारतमा रहँदा अन्तिमपटक गोरखपुर लोकेसनमा उनीहरुको रहेको पत्ता लागेको थियो ।
बोदेमा डेरा बस्ने क्रममा आफुहरु विद्यार्थीहरु भएको र बिहान बढ्दै दिउँसो काम पनि गर्ने बताएको घरधनी निरज चक्रधरले बताउनुभयो । दुई जना किशोरीहरु रहेछ, डेरामा नराख्ने भन्दा उनीहरु नागरिकता समेत देखाएपछि विद्यार्थीहरुलाई सहयोग नै हुन्छ भन्ने उद्देश्यले डेरामा राखेको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार दैनिक एक डेढ किलो चामल किनेर ल्याउँदै खाँदै बसेका उनीहरु पछिल्लो समय आर्थिक संकटमा परेका थिए ।
दिदीबहिनी मृत फेला परेपछि एक जना आफन्त प्रहरीको सम्पर्कमा आएको र मृतकहरुका बुबा पनि भारतबाट नेपाल आउँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकहरुको मोवाइल फेला पारेपनि आत्महत्याको विषयमा कुनै लिखतहरु नभेटिएको जनाएको छ ।