लक्ष्मी गारु, भक्तपुर, साउन ७
साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा बुधबार भक्तपुरका नेवार समूदाय गाथामग चह्रे पर्व मनाउँदैछन । विशेष गरी घरको शान्ति स्वस्तीको लागि भुतप्रेतलाई पुजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समूदायमा चाडपर्व शुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वको रुपमा पनि लिईन्छ ।
नेवार समूदायले हर्षोल्लासका साथ मनाउने गाथामग चह्रे नेवार समुदायको मौलिक पर्वहरु मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशीहरु घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र महाशिवरात्री चतुर्दशी मध्ये नेवार समूदायले मात्र पर्वको रुपमा मनाईने भएकाले घण्टाकर्ण चतुर्दशीलाई नेवार समूदायको मौलिक पर्वको रुपमा लिने गरेको बाराही मन्दिरका पुजारी लक्ष्मी नारायण कर्माचायले बताउनुभयो ।
गाथामग चह्रेको पुजा विधिपूर्वक गरे घरमा पितृदोषबाट मुक्त भई शान्ति कायम हुने र परिवारजनमा कुनै दानवी शक्तिको प्रभाव नपर्ने जनविश्वास रहेको छ । यसै विश्वास अनुरुप नेवार समूदायले गाथामग चह्रेमा बिहानै घरलाई लिटपोटगरी शुद्ध बनाउनुका साथै महादेव वा नायरायणको मन्दिर पुगेर जल ल्याई घरको सम्पूर्ण भागमा छर्केर चोखो बनाउने प्रचलन छ । घर चोखो गर्न अगाडि दैनिक जीवनमा प्रयोग भईरहेका सम्पूर्ण भाँडाकुडा धोएर चोखो गर्छन । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ ।
घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुतप्रेत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर घरको मुल ढोका अगाडि कुमार र टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात भुत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्दा कोहीले कुखुराको बली समेत दिने परम्परा छ ।
बौ वाय् ज्यासँगसँगै घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भुतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको स्थानीय बलराम प्रजापतिले बताउनुभयो ।
घरका साना केटाकेटीहरुलाई खुट्टामा फलामको कली (एक प्रकारको गहना), तामाको औंठी लगाईदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र फलामको औठीं लगाउने प्रचलन रहेको छ ।
त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फुल समेत राखेर छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखी तल्लो भाग छिँडीसम्म धुवाँ जाने गरी परिक्रमा गराई छ्वास अर्थात नेवार समुदायको मानिस मर्दा मृतकको लुगा फाल्ने ठाउँमा लगेर सेलाउने गरिन्छ । यस दिन नेवार समुदायमा घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने प्रचलन समेत रहेको छ ।
गाथामग चहेको साँझ बच्चाहरु भुतदेखी नडराउन, रुन्चे नलागुन भनी टोल टोलमा रहेको छवासमा गथामुगलाई आगो तपाएर तनि चकर लगाईसके पछि सो आगोमा घुमाई घुमाई आगो तपाउने प्रचलन रहेको छ ।
गाथामगको दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने जनविश्वास रही आएको छ । गथामग पर्व मनाउन घर आँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको संख्या कम हुने र लामखुट्टेको टोकाइ समेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ ।
गाथामग चह्रेकै अवसरमा टोलबासीले नर्कट र छ््रवालीको मानवाकृतयूक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठ्ड्याएर राखिन्छ । सँगसँगै बच्चाहरुलाई राक्षसको प्रतिक बनाई जगात अर्थात पैसा उठाउन लगाईन्छ । साँझपख छवाली बालेर बाजागाजाका साथ राक्षसको प्रतिक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोलापारी, दोबाटो, चौबाटो र नगरबाहिर लगेर जलाईन्छ । जलाएर फर्केपछि गाईजात्रा शुरु भएको जनाउ दिँदै घिनताङघिसि तालमा नाचेर आउने परम्परा छ ।
यस पर्वलाई किसानहरुको ‘सिनाज्या ब्यंकेगु’ (रोपाईं कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुवाट भएको पर्वको रुपमा लिने गरेको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने परम्परा पनि रही आएको छ ।
नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचिन ईतिहासकाल देखी प्रचलनमा रहेको ईतिहासविद् एवम् संस्कृतिविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा करिव दुई हजार वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको उहाँले बताउनुभयो । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठ बताउनुभयो ।
लोककथन अनुसार घण्टाकर्ण भगवान बिष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान विष्णुले शिव र आफु एउटै भएकाले शिवको पूजा गर्नु भन्दा घण्टाकर्ण मानेन् तब विष्णुले ‘हरि र शंकर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे, सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये । त्यसैले यसलाई घण्टाकर्ण भनिएको किवंदन्तीमा उल्लेख गरिएको छ ।
कानमा घण्टा झुण्ड्याएर हिँड्ने घण्टाकर्णको पुजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतिकको रुपमा पनि लिईन्छ । पौराणिक कथन अनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छ । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक संकट परेपछि उनले घण्टाकर्णको रुप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् प्र्राडा. श्रेष्ठले बताउनुभयो ।
गाथामग पर्वको दिनदेखी नै नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउने कार्यको थालनी गरिन्छ । नेवार समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वको रुपमा लिने र सो दिन देखी घण्टाकर्णसम्म धान रोपाईं सक्नु पर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ ।
नेवार समुदायले गाईजात्राका बेला नौ दिन आठ रात प्रदर्शन गरिने विभिन्न बाजागाजाहरु, भैरव नाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, लुसिचा प्याखं, रामायण लगायत व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत घण्टाकर्ण पर्वदेखि शुरु गरिन्छ ।
भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको लागि घण्टाकर्ण चतुर्दर्शीकै दिनदेखी मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । यसदिन नवदुर्गा जात्राका सबै देवगणहरु महादेव सिद्ध गर्न याछें स्थित नवदुर्गाको मुकुण्डो बनाउने चित्रकारकहाँ गई ख्वपा बनाउने विषेश पुजाकोठामा कालो माटोले चित्रकारले महादेवको प्रतिक बनाई मुकुण्डोको शुभारम्भ गर्छ । यस कार्यपछि महादेवको प्रतिमामा देवगणले दुईवटा भाले बलीदिई विधिवत पुजा गर्छ । पुजा सम्पन्न गरेपछि कुखुराको मासु राखेर सबै देवगण र चित्रकार बसेर समेबजी खान्छ । खाईसकेपछि नवदुर्गा देवगृह फर्केर तालाक्व स्थित हाकुज्याक अर्थात नायोकु नामक समुहको प्रजापतिहरुको गुठीघरमा जाने परम्परा छ । त्यहाँ पुगेपछि गुठीघरमा हाकुज्याकका थकाली(मुख्य नाइके)को हातमा भैरव बन्ने देवगणले ओम वा स्वस्तिक चिन्ह लगाई एउटा सिक्का र दुईवटा चाँडी सानो सिक्का जस्तो देखिन पाता वैनाको रुपमा दिई नवदुर्गा गणलाई चाहिने सम्पुर्ण माटोको भाँडा बनाउन आग्रह गर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।
यो कार्य सकेपछि सबै जना समेबजी खाएर नवदुर्गा देवगण देवगृह फर्किन्छ । यसै दिनदेखि देगणहरु कुन देवीदेवता बन्ने हो त्यो शक्तिपिठमा गई तान्त्रिक पुर्वक पुजा गर्ने परम्परा रहेको सल्लाहार बनमालाले बताउनुभयो ।
घण्टाकर्ण चर्तुदशीका दिन भक्तपुरको वाखुपति नारायण, तिलमाधव नारायण, लोकेश्वर मन्दिर, दत्तात्रय मन्दिर, यातु महादेव, दिपंकर बुद्ध लगायत नगरका शक्तिपिठहरु ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरवनाथ र तलेजुको मन्दिरमा दर्शनार्थीको घुईचो लाग्छ ।