कुलिङ पिरियड हटाउन खोजे सरकार बचाउन सकिँदैन ः महामन्त्री शर्मा

भक्तपुर, साउन ६
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको कुलिङ पिरियडको विषयमा राज्य व्यवस्था समितिको सिफारिस विरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाई नराख्ने बताउनुभएको छ ।
४३ औं विपि स्मृति दिवसको अवसरमा आज (मंगलवार) नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुर थिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्रीले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफरिस विपरित गर्न खोजिए वर्तमान सरकारलाई बचाई नराख्ने बताउनुभएको हो । उहाँले कुलिङ पिरियडका विषयमा जसले गलत गरेपनि कारवाही हुने बताउनुभयो ।
“कुलिङ पिरियड सम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कार्वाही हुन्छ र कुलिङ पिरियड २ बर्षको ठाउँमा साढे २ बर्ष होला तर हट्दैन,” उहाँले भन्नुभयो, “राष्ट्रिय सभाबाट यसलाई समाधान गरिन्छ । कुलिङ पिरियडलाई प्रधानमन्त्रीज्युले हटाउने प्रयास गर्नुभयो वा समितिबाट गरेको सिफारिस विरुद्ध काम हुन्छ भने कांग्रेस यो सरकारलाई बचाई राख्दैन ।”
उहाँले भुमि विधेयकको विषयमा छलफल चलिरहेको बताउँदैं यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाईने बताउनुभयो ।
रवि लामिछानेलाई सरकारले वा पुराना पार्टीहरु कांग्रेस र एमालेले प्रतिशोध साँधेर जेल हाल्यो भन्ने निराधार भएको बताउँदैं उहाँले संसदिय छानबिन समितिले कानुन बमोजिम कार्वाही गर्नु भनी प्रतिवेदन पेश गरेको आधारमा कानून बमोजिमको निकायले छानविन गरी मुद्दा चलाएको र कानुन बमोजिम नै अदालतको आदेशले अहिले पुर्पक्षमा रहेको स्पष्ट पार्नुभयो ।


उहाँले अहिले देश विपिको नीतिमा अगाडि बढेको बताउनुभयो । “पहिले विपिको विचारको पक्ष र विपक्षमा बहस हुन्थ्यो भने अहिले कांग्रेस बाहेकका पार्टीहरुले पनि विपिको विचारलाई लिएर अगाडि बढेको देखिन्छ । जसले गर्दा हामी के बुझ्छौ भने देश अहिले विपिको विचार नीतिमा अगाडि बढेको छ,” उहाँले भन्नुभयो ।
उहाँले विपिलाई अन्य दल, राजतन्त्र र स्वयम नेपाली कांग्रेसले राम्रोसँग बुझ्न सकेको भए अहिले राजा नागार्जुनको जंगलमा सिमित नहुने टिप्प्णी गर्दै भन्नुभयो, “विपिले देशमा राजतन्त्रसंगै प्रजातन्त्रलाई अगाडि बढाउन खोजेको थियो तर राजतन्त्रले विपिलाई बुझ्न नसकेकोले राजतन्त्रको अन्त्य हुन पुगेको हो ।”
उहाँले विपिलाई कम्युनिस्टहरुले राम्रोसँग बुझेको भए कम्युनिस्ट दर्शन यसरी विश्वबाट नहराउने र नेपालमा १० वर्षे युद्ध समेत नहुने जिकिर गर्नुभयो ।
कांग्रेसले विपिको सोच बमोजिम देश विकासमा सबैलाई सहभागी गराई अगाडि बढेकै कारण अहिले गाउँ गाउँसम्म विद्यालय, बिजुली, सडक लगायतका पुर्वााधार पुगेको दावी गर्दै कांग्रेसले गर्दा नै अहिले नेपाल बिजुली निर्यात गर्न सक्षम भएको बताउनुभयो ।
उहाँले विपिले कांग्रेसलाई थप मजबुद बनाउन गठन गरेको तरुण दलले समाजमा ब्याप्त कुरिति र कुसंस्कारको अन्त्य गरी समाज अगाडि बढाउदै लैजानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अबको सरकार शेखर कोईराला नेतृत्वमा भन्ने भनेर अफवाह फैलाएर अराजकता निम्त्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसीहरु विभिन्न खालका भ्रम र अफवाह लगायतका चुनौतिहरुलाई चिर्दै एक जुट हुँदै २०८४ को चुनावमा स्थानीय तथा केन्द्रमा कांग्रेसको बहुमतको सरकार बनाउने लक्ष्य साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीका भातृ संगठनहरुको अधिवेशन महँगो र खर्चिलो हुँदैं गएको बताउँदैं यसलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले मध्यपुर थिमि नगरको तरुण दलको अधिवेशनको नतिजाले भोलीको नेपाली कांग्रेस भक्तपुरको नेतृत्व समेत निक्र्यौल हुनसक्ने दावी गर्दै सोही अनुसार तरुण दलको अधिवेशनलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस मध्यपुर थिमि सभापति हरीदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमि उपसभापति अनिल श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।