विपि स्मृतिमा माल्यार्पण, वृक्षारोपण, मोटरसाइकल र्याली र रक्तदान

भक्तपुर, साउन ६
नेपाली कांग्रेसका संस्थापक सभापति एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आज (मंगलवार) भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित विपि पार्कमा अवस्थित विपिको शालिकमा माल्यापर्ण तथा वृक्षारोपण गरिएको छ ।
सो अवसरमा जिल्ला सभापति थापाले विपिको विचार र सिद्धान्तले नै नेपाली कांग्रेस बलियो बनेको बताउनुभयो । उहाँले कांग्रेसमा अहिले विपि, किसुनजी र गणेशमानजीको जस्तो त्याग निष्ठाको खाँचो रहेको औंल्याउँदै कांग्रेस एक ढिक्का भई अगाडि बढे आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले नेता कार्यकर्ताहरुलाई विपिपथमा हिड्नु नै विपि प्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा, बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पुर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर र महेश श्रेष्ठ, जिल्ला कायसमितिका पदाधिकारी, क्षेत्रीय सभापतिहरु, नगरसभापतिहरुलगायतले माल्यार्पण गर्नुभएको थियो । साथै पार्कमा विभिन्न प्रजातिका वृक्षारोपण पनि गरिएको थियो ।


माल्यार्पणपछि नेपाल तरुण दल भक्तपुरले मोटरसाइकल ¥याली आयोजना गरेको थियो । लोहकिल्थलीस्थित विपि पार्कबाट शुरु भएको ¥याली गठ्ठाघर, शंखधरचोक, बालकुमारी, चपाचो, बहाखाबजार, निकोशरा, गाँखु, तिगनी, बोदे बस्ती, कमलपोखरी, मगरगाउँ, सानोथिमि, नगदेश, नगरपालिका कार्यालय हुँदैं मध्यपुर बेंक्वेटमा पुगेर समापन भएको थियो ।
यसैगरी विपि स्मृति दिवसकै अवसरमा नेपाली कांग्रेस मध्यपुर थिमि समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको नगरसभापति हरीदास प्रजापतिले जानकारी दिनुभयो ।