भक्तपुर, साउन ६
प्रहरी वृत्त थिमिले सडक पेटीमा अचेत अवस्थामा फेला परेकी एक महिलाको उद्धार गरी अस्पतालमा उपचार गराइरहेको छ । मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीको मनोहरा प्लानिङमा अवस्थित अक्षरा स्कुल नजिकको सडक पेटीमा आज (मंगलवार) बिहान पौने ८ बजे एक महिला अचेत अवस्थामा फेला परेको थियो ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी पुगेर उनको उद्धार गरी कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा लगिएको र त्यही आईसीयुमा उपचार भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।
प्रहरीले ती महिलाको पहिचान खुल्न नसकेको जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ३५÷४० वर्षकी ती महिलाले बुट्टे टप्स, कालो ज्याकेट, कालो बुट्टे सुरुवाल र रातो तुना भएको चप्पल लगाएकी छिन । हुलियाको आधारमा चिन्नु हुनेले ती महिलाको आफन्त वा प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ । प्रहरीले. ९८५१२८२५९९, ९८५११६९२२३ वा ९८४२८०६४६१ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।