भक्तपुर, साउन ६
भक्तपुरमा आज (मंगलवार) बिहान सवा ११ बजे मयुर यातायातको ठक्करबाट पैदलयात्री ७१ वर्षिया बृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाण्डौं जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गर्दै गरेकी ७१ वर्षिया श्रेष्ठलाई ठक्कर दिँदा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भिर घाईते भएकी थिइन । उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
प्रहरीले ठक्कर दिने बस र बसका चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाण्डौ नारायणस्थान बस्ने २८ वर्षिय निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप कारवाही गरिरहेको जनाएको छ ।