भक्तपुर, साउन ६
भारतमा सोमवारबाट शुरु भएको फरक क्षमता भएका व्यक्तिहरूको २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले प्रतिष्पर्धा गर्ने भएको छ । विश्व बुद्धिचाल महासंघको तत्वावधानमा शारिरिक रुपमा अशक्त चेस फेडेरेशन (सिएफपिडी) र विशेष रुपमा सक्षम गोवा चेस एशोशिएशन (जिसिएएसए)को संयुक्त आयोजनामाउक्त च्याम्पियनसिप जुलाई ३१ सम्म गोवामा भइरहेको छ ।
फरक क्षमताको बीचमा हुने स्पर्धामा ५५ वर्षिय विश्व विजय घिमिरेलाई सहभागीताको लागि मेची नगरपालिकाले आर्थिक सहयोग प्रदान गरिएको छ । विश्व चेस महासंघको आधिकारिक वल्र्ड च्याम्पियनसिपमा भने नेपालको यो तेस्रो सहभागीता हो । यसअघि सन् २०२४ मा नेपाल च्याम्पियन रुपेश जैशवालले अजरबैजानमा भएको वल्र्ड साइकल छनौटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै सन् २०२४ कै काजाकिस्तानमा भएको वल्र्ड युथ क्याडेट च्याम्पियनसिपमा त्रियोग उच्च माविका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गरेका थिए ।
त्यसैगरी यस वल्र्ड च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय आविर्टर यज्ञप्रसाद पन्त निर्णायकको भुमिकामा रहनेछ । कुनै पनि वल्र्ड च्याम्पियनसिपमा निर्णायकको रुपमा नेपाली आर्विटरको यो पहिलो अवसर पनि हो ।
नेपाल बुद्धिचाल महासंघको पहलमा नेपालको प्रतिनिधित्व गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विश्व विजयले विश्व स्तरिय खेलमा सहभागी हुन पाउनु गौरवको विषय हो भन्दै राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
महासंघकै पहलमा मौका प्राप्त गरेका निर्णायक आईए पन्तले विश्व स्तरिय अवसरलाई चुनौतीको रुपमा लिएको बताए ।
उक्त फरक क्षमता भएका बुद्धिचाल खेलाडीहरुको वल्र्ड च्याम्पियनसिपमा नेपाल सहित आयोजक राष्ट्र भारत, कजाकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोलाण्ड, स्लोभाकिया, हंगेरी, चेकोस्लाभाकिया, मंगोलिया, फिलिपिन्स, अवरबैजान, उब्जेकिस्तान लगायत देशहरुका ९७ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
भारतको पर्यटकीय स्थल गोवामा आगामी ११ दिन सम्म सञ्चालन हुने नौ चरणको प्रतिस्पर्धामा खेलाडीलाई हौसला प्रदान गर्न नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र विश्व स्तरीय खेल अवलोकन गर्न खेलाडी राजभाई महर्जन भारत पुगेका छन् ।