भक्तपुर, साउन ४
मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ३ हजार ४ सय नौ परिवारलाई स्वास्थ विमा सेवा बापतको रकम भुक्तानी गरेको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाले प्रति परिवार रु. ३ हजार ५ सयका दरले बिमाको प्रिमियम भुक्तानी गरेको जनाएको हो ।
नगरका ६० वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, ख वर्गका अपाङ्गता भएका व्यक्ति, दलित परिवार र दर्ता सहयोगीहरुलाइ स्वास्थ विमा मार्फत सो भुक्तानी गरिएको शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
नगरवासीहरुको सु–स्वास्थका लागि विभिन्न स्वास्थ सेवा प्रदान गरिरहेको नगरपालिकाले गत फागुन महिनादेखि ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि प्रत्येक वडामा दुई दिन नियमित स्वास्थ्य परिक्षण गरिरहेको छ । हरेक वडाको शहरी स्वास्थ्य केन्द्रमा नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको विशेषज्ञ सहितको टोलीले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको सो सु–स्वास्थ सेवामार्फत असार मसान्तसम्म २ हजार ५ सय ४० जनाले लाभ लिएको प्रजापतिले बताउनुभयो । उनीहरुलाई परिक्षण पछि निशुल्क औषधि दिने र आवश्यकता अनुसार अस्पताल रेफर गर्ने गरिएको छ ।
यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक सञ्चालनको अन्तिम तयारी गरिरहेको मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८१÷०८२ मा नगरका ४ सय ७९ विरामीलाई ८ सय १४ पिन्ट रगत निःशुल्क प्रदान गरेको छ ।
त्यसैगरी नगरपालिकाले विपन्न नागरिक औषधी उपचार वापत २ सय १० जनालाई प्रति व्यक्ति रु. ५ हजार मासिक भत्ता र १ सय २३ जनालाई १ लाख रुपैयाँ सम्मको सिफारिस गरेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
बालबालिकाको स्वास्थ अन्तर्गत जन्मेदेखि ५ वर्षमुनिका १३ हजार २ सय ३३ बालबालिकालाई विशेष खोप अभियान मार्फत पोलियो थोपा खुवाइएको र छ महिनादेखि ५ वर्षसम्मका ६ हजार ९ सय ८४ बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइएको उहाँले बताउनुभयो ।
नगरपालिकाको जनस्वास्थ्य शाखाले इ केयर नेपाल स्वास्थ्य संस्थाको समन्वयमा नगरका सबै सामुदायिक विद्यालयमा नाक, कान, घाँटी रोग परिक्षण सञ्चालन भएको छ । जस अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा आदर्श मा.वि. सानोथिमी, बालप्रेमी मा.वि. र गणेश मा.वि. का १ हजार ३ सय ७५ विद्यार्थीहरुको नाक, कान घाँटी रोग परिक्षण गरि आवश्यकता अनुसार औषधिसमेत वितरण गरेको छ । साथै ती रोग सम्बन्धि शल्यक्रिया गर्नुपर्ने विद्यार्थीहरुलाइ सहुलियतको पनि व्यवस्था गरेको शाखाले जनाएको छ ।
यस्तै क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत मध्यपुर थिमि नगरपालिकाले एआइ प्रविधिबाट छातीको एक्स–रे सहितको निःशुल्क शिविर मार्फत ४ सय ४४ जनाको परिक्षणपछि ४० जना शंकास्पद व्यक्तिको खकार जाँच गर्दा एक जनामा क्षयरोग संक्रमण देखिएकाले हाल औषधि उपचारमा पठाएको छ ।
क्षयरोग न्यूनीकरणका लागि नगरका ९ सय ७५ घरधुरीको सर्भेक्षण, आस्था महिला विद्यालय, बालसुधार गृह, मानव सेवा आश्रम, मुस्लिम समुदायको प्रार्थना स्थल र गलैंचा कारखानामा २ सय ३२ जनाको निःशुल्क क्षयरोग परिक्षण गर्दा क्षयरोगी फेला नपरेको शाखाले जनाएको छ ।
त्यसैगरी अहिले व्यापक रुपमा देखिएको डेंगु रोग फैलन नदिन नगरका सम्पुर्ण वडाहरुमा जनप्रतिनिधिहरुको अगुवाईमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट अभियान’ जारी रहेको स्वास्थ्य शाखा प्रमुख प्रजापतिले बताउनुभयो ।