नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आमा सुरक्षा कार्यक्रम शुरु, सुत्केरी महिलाले २ हजार पोषण भत्ता पाउने

भक्तपुर, साउन ४
मध्यपुर थिमि नगरपालिकाले महिला स्वास्थ्यको क्षेत्रमा नयाँ कार्यक्रम शुरु गरेको छ । नगरबासी तथा आसपासका छिमेकी नगर र जिल्लावासीहरुलाइ सहुलियत रुपमा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट मातृ शिशु स्वास्थ्य सेवा अन्तर्गत आमा सुरक्षा कार्यक्रम शुरु गरेको हो ।
नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालमा गत जेठ २१ गतेदेखि यो सेवा प्रारम्भ गरेको जनस्वास्थ शाखाका प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । गत असार मसान्तसम्म सुत्केरी भएका सात आमाहरुलाई पोषणभत्ता स्वरुप दुई हजार रुपैयाँ पनि प्रदान गरेको उहाँले बताउनुभयो । अबदेखी यस अस्पतालमा सुत्केरी हुने गर्भवती महिलाहरुलाइ सो मातृशिशु स्वास्थ भत्ता वापत दुई हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यसैगरी नगरपालिकाले दुईवर्ष देखी एक हजार रुपैयाँ बराबरको सुत्केरी पोषण सामाग्री पनि वितरण गर्दै आएको छ । हालसम्म नगरका ५ सय ६५ जना सुत्केरी महिलाहरुले यो सेवा लिइसकेका छन् ।
नगरपालिकाले गत आर्थिक वर्ष २०८१÷०८२ मा महिला स्वास्थ क्षेत्रमा नगरका ४४ वटा स्वास्थ आमा समुहको पुनर्गठन गरि लैगिक हिंसा र अन्य स्वास्थ्य सचेतना कार्यक्रम गरिएको प्रजापतिले जानकारी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाले गत आ.व.मा महिलाहरुमा जोखिम मानिने पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि एचपिभी खोप अभियान सम्पन्न गरेको छ । जसमा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूह तथा कक्षा ६ देखि १० सम्मका ४ हजार २१ जना बालिकाहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइएको छ ।
यस्तै भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ्ग शिविर सञ्चालन गरिएको प्रजापतिले बताउनुभयो । तीस वर्ष माथि उमेर समुहका महिलाहरुका लागि आयोजित शिविरमा एक हजार ३६ जनाले प्रत्यक्ष लाभ लिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
त्यसैगरी नगरका नौ वटै वडामा रहेका करिब ५ सयजनाको आमा समूह महिला स्वास्थ स्वयंसेविकाहरुलाइ क्यान्सर रोगबारे जनचेतनामूलक अभिमुखिकरण पनि गरेको उहाँले बताउनुभयो ।