नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलनको लोगो सार्वजनिक

भक्तपुर, साउन ४
यही साउन १७ गते आयोजना हुन गइरहेको नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको तेस्रो नगर सम्मेलनको तयारीलाई तिव्रता दिएको छ । नगरसमितिले सम्मेलनको लागि शनिवार प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्नुका साथै बुद्धिजिविहरुसँग रणनीति एवम् कार्यनीतिका लागि सुझाव संकलन गरेको छ ।
जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले सार्वजनिक गर्नुभएको लोगोमा सूर्यविनायक नगरपालिकाको नक्सा, नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे झण्डालाई आकर्षकरुपमा सयोंजन गरिएको छ ।
सूर्यविनायक नगरसमितिले नगर भित्र बसोवास गर्नुहुने पार्टी प्रति प्रतिबद्ध बुद्धिजीवी, विद्यार्थी, डाक्टर, ईन्जिनियर, प्राध्यापक र सेवा निवृत्त निजामती सेवा उच्च अधिकारीहरुसँग सुझाव संकलन गरेको नगरसभापति निशान ढुगेलले जानकारी दिनुभयो । उहाँले सम्मेलनले नगर क्षेत्रभित्र पार्टी बिस्तार एवं ब्यवस्थापनका सन्दर्भमा लिने रणनिति तथा कार्यनिति निर्माणमा अमुल्य राय सुझावहरू लिईएको नगर सभापति ढुगेलले बताउनुभयो ।
सुझाव संकलन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवं भक्तपुर क्षेत्र नम्वर २ का सांसद दुर्लभ थापाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई अझ बलियो र संस्थागत बनाउन कांग्रेस जस्तो लोकतान्त्रिक शक्ति बलियो हुनुपर्ने भएकोले हरेक स्थानीय स्तरमा रहेका कांग्रेसका शुभेच्छुकहरुले सधै रचनात्मक सल्लाह सुझाव दिइरहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सचिव राजेश खडका, सह सचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की, प्रदेशसभा सभापति प्रदिप कार्की लगायत नगर समितिका पदाधिकारीहरू सहभागी थिए ।
कार्यक्रममा अधिकांश सहभागीहरूले कांग्रेस भित्रको केन्द्र देखि वडावडा सम्मको गुटबन्दीको अन्त्य गर्नका लागि माथिल्लो तहमा दवाब दिनुपर्ने र जनतामा जनताका खास एजेन्डा दिएर जानुपर्ने र चुनावमा मात्र सक्रियता देखाउने रोगको अन्त्यमा लाग्नुपर्नेमा जोड दिएका थिए ।