भक्तपुर, असार ३२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायवसुब्बा दिपक प्रसाद अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ । अधिकारीलाई अख्तियारले मंगलवार साँझ नियन्त्रणमा लिएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ को १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजार रुपैया घुस लिएको घटनामा अनुसन्धानका लागि अधिकारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको अख्तियारका सहप्रवक्ता एवम् सूचना अधिकारी देवीप्रसाद थपलियाले बताउनुभयो ।
अख्तियारको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य, कार्यालय सहयोगी टिकाराम राउतलाई घुसको २४ लाख ५० हजार नगदसहित मंगलवार दिउँसो भूमिसुधार कार्यालय व्यासीबाट नियन्त्रणमा लिएको थियो । सो क्रममा नासु अधिकारीको मोवाइलसमेत अख्तियार टोलीले नियन्त्रणमा लिएर निगरानीमा राखेको थियो ।
अनुसन्धानको क्रममा अधिकारीको पनि घुस प्रकरणमा संलग्नता देखिएपछि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।