भक्तपुर, असार ३१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई घुसको रकम सहित पक्राउ गरेको छ । अख्तियारको टोलीले मंगलवार दिउँसो २४ लाख ५० हजार घुसको रकमसहित आचार्य र राउतलाई भक्तपुर व्यासीस्थित भूमिसुधार कार्यालयबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका आचार्य उदयपुरको बेलका नगरपालिका–४ हरिपुर घरभई हाल काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका–७, फोर्सपार्क बस्दै आएका छन भने राउत चाँगुनारायण नगरपालिका–९, राउतटोल घर भई हाल मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थली बस्दै आएको अख्तियारले जनाएको छ ।
जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सो रकम घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले आचार्य र राउतलाई स्टिङ अप्रेसनमार्फत पक्राउ गरेको हो ।
अख्तियारले आचार्यको साथबाट मोवाइल डिभाइस २ थान, भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारीको साथबाट मोबाइल एक थान, र कार्यालय सहयोगी राउतको साथबाट मोवाइल एक थान समेत बरामद गरिएको जनाएको छ । अख्तियारले थप अनुसन्धान भइरहेको जनाएको छ ।