भक्तपुर, असार ३०
मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेमा हरियाली र सौन्दर्यकरण अभियान शुभारम्भ भएको छ । अभियान अन्तर्गत बोदेको सम्पदा पदमार्ग वरिपरि हरियाली र वातावरण मैत्री बनाउने, स्वबासी बस्ती भित्रको सम्पदा स्थलहरुमा सौन्दर्यकरण गर्ने उदेश्यले बृक्षारोपन र फुलका बिरुवाहरु रोप्ने कार्य शुरु गरिएको हो ।
वडा नं ८ को आयोजनामा सम्पदा मार्ग वरिपरि पर्यावरणीय सुधार, प्राकृतिक सौन्दर्य वृद्धि र वातावरण मैत्री बनाउने उदेश्यले हरियाली अभियानको थालनी गरिएको अध्यक्ष रमेश थापा श्रेष्ठले बताउनुभयो ।
वडा नं. ८ का प्राविधिक सब ईन्जिनियर रत्नेश्वरी श्रेष्ठका अनुसार वडा कार्यालय बोदेको लागतमा नेप्सेम्याक्ससँग प्राविधिक परामर्श लिएर यो बर्ष सम्पदा मार्ग वरिपरि साँस्कृतिक सम्पदासँग सम्बन्धित नेवाःहरुको स्थानीय जात्रा, चाडपर्व, जन्म मृत्यु संस्कारलाई आवश्यक पर्ने पैयु, निगालो, कपुर, काईयो, कल्की, नासपाती लगायत विभिन्न जातका १५० वटा ४ फिट अग्लो बोट बिरुवा रोपिएको छ । यस्तै बोदेको खाँसी, द्योबु, लाछी क्षेत्रका पुराना स्वबासी क्षेत्र भित्रका सम्पदा स्थलहरुमा विभिन्न जातका ६० वटा फुलहरुको गमला राखिएको छ ।
बोदे क्षेत्रमा हरियाली र सौन्दर्यकरण अभियानमा यो प्रारम्भिक शरुवात मात्रै हो, यो थालनी सफल भएमा प्रत्येक बर्ष अभियानका रुपमा आगामी बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिईने वडा सदस्य सुरेन्द्र था श्रेष्ठले बताउनुभयो ।
बोदेको नछुटोल, लाछी, दुवाटोल लगायत क्षेत्रहरुमा स्थानीय बासिन्दाहरुले निजी खर्चमै घर आँगन, टोलमा फुलका बोट बिरुवाहरु लगाएर सौन्दर्यकरण गरि रहेका छन । यस्तै थालनी बोदेका अरु टोलहरुमा पनि स्थानीय बासिन्दाहरु अनुकरण गरेर शुरु गर्नुपर्ने, वडा कार्यालयले लगाएको बोट बिरुवा, फुलका बोटहरु हुर्काउने रेखदेख गर्ने र संरक्षण कार्यमा स्थानीय जनता तथा वडाबासीहरुले जिम्मेवार भै सकारात्मक भुमिका निभाउन बोदे वडा कार्यालयले अपिल समेत गरेको छ ।