भक्तपुर नगरपालिकाको १८ औं नगरसभा सम्पन्न

भक्तपुर, असार २३
भक्तपुर नगरपालिकाको १८ औं नगरसभा सोमवार सम्पन्न भएको छ । गत असार ६ गते शुरु भएको भक्तपुर नगरपालिकाको १८ औं नगरसभा सोमवार विविध प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
सभाको अन्तिम दिन सोमवार लेखा समितिको प्रतिवेदन–२०८२, न्यायिक समितिको प्रतिवेदन, नगरपालिकाका कर्मचारीहरुको तलबी प्रतिवेदन र भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्तावहरु पारित गरेको नगरपालिकाले जनाएको छ ।
सभाको समापनमा सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरसभाको १८ औं नगरसभा सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गण, बुद्धिजीवी, सञ्चारकर्मी, कर्मचारी, नगरबासी र सभासद्हरुलाई धन्यवादज्ञापन गर्नुभयो ।
सभाको अन्तिम दिनको विशेष समयमा सभासद् विष्णुकेशरी दुवाल, रामसुन्दर बासी, सभासद् गंगालक्ष्मी बमनू, मन्जुमैंया लाखा, सभासद् हेरा ख्याजु, सभासद् कृष्णनारायण दुमरु, सभासद् सिद्धिराम अवालले खानेपानी, सडक, पुरातात्विक सम्पदा र अरनिको सभाभवनको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
त्यस्तै सभासद् इन्द्रबहादुर प्याठले सहकारी संस्थाहरुलाई सचेत गर्नुपर्ने र भ.न.पा. ९ को पर्यटन सूचना केन्द्र पुनः सञ्चालन गर्नुपर्ने, सभासद् श्यामसुन्दर मातांले नगर प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने, सहकारीको खराब ऋण व्यवस्थित गर्नुपर्ने र ढुंगेधाराहरुको बन्द निकासहरु खोल्नुपर्ने, सभासद् नारायणप्रसाद त्वानाबासुले गाजाको नरसंहार, निजामति सेवा सम्बन्धी विधेयकमा रहेको कुलिङ अफ पिरियड, चोभार गल्छी, रासायिक मल व्यवस्थाबारे चर्चा गर्नुभयो भने सभासद् गोविन्द दुवालले भ्रष्टाचार विरोधी आन्दोलनको चर्चा गर्दै पर्याप्त रासायनिक मल व्यवस्था गर्न पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको अठारौं नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।