भक्तपुर, असार ३
भक्तपुर दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालय यसवर्ष पनि उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । भक्तपुरकै पहिलो तथा एक शताब्दी पुरानो सामुदायिक विद्यालय श्री पद्म शैक्षिक मूल्याङ्कनमा यो वर्ष पनि उत्कृष्ट बन्न सफल भएको हो ।
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रत्येक वर्ष देशैभरिको विद्यालयहरूमा गर्दै आएको शैक्षिक गुणस्तरीय मापन कार्य अन्तर्गत श्री पद्म शैक्षिक वर्ष २०८१ मा ९१ प्रतिशत अंक ल्याएर उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।
श्री पद्य गत शैक्षिक वर्ष २०८० मा पनि ९० प्रतिशत बढी अङ्क ल्याई देशभरिमै तेस्रो उत्कृष्ट बनेको थियो ।
गत जेठ २७ गते विज्ञ परिक्षक प्रकाश महर्जन सहितको टोलीले विद्यालय, विद्यार्थी, समुदाय समेतको अनौपचारिक अवलोकन गरि शैक्षिक, भौतिक, आर्थिक र वातावरणीय सरसफाई लगायतका विभिन्न नौ वटा मापदण्डको अनुगमन गरेको थियो ।
शैक्षिक गुणस्तर मापन केन्द्रको मापदण्ड अनुसार नमुना विद्यालयको जम्मा अंक भार १ सय ९५ हो । जस मध्ये श्री पद्यले १ सय ७९ अंक अर्थात ९१.७९ प्रतिशत अंक हासिल गर्न सफल भएको सोमवार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका भक्तपुर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकृष्ण गोराले आलोचनालाई मार्गनिर्देशनको रूपमा बुझ्यौ भने यो विद्यालयलाई झन् उत्कृष्टताको उचाइमा पु¥याउन सकिने बताउनुभयो ।
करिव १ हजार ६ सय बढी विद्यार्थी सहित कक्षा १२ सम्म माध्यमिक र स्नातकसम्म कलेज संचालन गर्दै आएका श्री पद्म २०७५ मै नमुना विद्यालय घोषित भएको थियो । विद्यालयले यसअघि २०८० मै बागमती प्रदेश सरकारले असल अभ्यासहरुमा उत्कृष्ट विद्यालयको खिताब पाएका थिए ।
विज्ञ परिक्षक प्रकाश महर्जनका अनुसार हरेक सामुदायिक विद्यालयले पनि विद्यार्थीको रेकर्ड अभिलेख उत्कृष्ट रूपमा गर्नसक्नु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक सरकारी कर्मचारी भन्दा पनि प्राविधिक व्यक्ति बन्नुपर्ने बताउँदैं उहाँले विद्यालय रणनैतिकतिर, शिक्षण सिकाई, विद्यालय व्यवस्थापन तथा कार्य व्यवस्थापन, पुस्तकालय, विज्ञान प्रयोगशाला नवपर्वतनात्म कार्यमा विद्यालयले राम्रो गरेको पाएको जनाउनुभयो ।
त्यस्तै चमेना गृह थप व्यवस्थित गर्नुपर्ने, पेशागत विकासको कार्य थप व्यस्थित गर्नुपर्ने, अनुसन्धनात्मक पाटोमा थप लगानी गर्नुपर्ने, शैक्षणिक विधि प्रयोगमा थप सहभागिता गर्नुपर्ने, शताब्दी पुरानो विद्यालयमा दाताहरुलाई अझ आकर्षित गर्न सकिने जस्ता सुझाव विज्ञ परिक्षक महर्जनले दिनुभएको थियो ।