पद्म चैत्य विहार, बुटवलमा आजदेखि साप्ताहिक ‘दुर्लभ प्रव्रज्या कार्यक्रम’ शुरु

सुनीता तुलाधर, बुटवल, असार १ गते ।
भगवान बुद्ध जन्मभूमि लुम्बिनी प्रदेश, यसै प्रदेश अन्तर्गतको बुटवल उपमहानगरपालिकाको वडा १ स्थित पद्म चैत्य विहारमा आज नेपालका कुलपुत्रहरुको सात दिवसीय “दुर्लभ श्रामणेर प्रव्रज्या” समारोह शुभारम्भ भएको छ । पद्म चैत्य विहारको आयोजनामा अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरको उपाध्यायात्वमा सो प्रव्रज्या शुरुवात भएको हो ।
भगवान बुद्धको प्रतिमा अगाडि दीप प्रज्वलनपछि शुरु भएको उक्त समारोहको पहिलो दिन आज कुलपुत्र धम्मदायादहरुले भिक्षु संघमा श्रामणेर प्रव्रज्याको याचना पाठ गरेपछि उपाध्याय भन्ते बोधिज्ञान महास्थविरले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभई औपचारिक रुपमा श्रामणेर भावमा प्रव्रजित गर्नुभयो । यसअघि उनीहरुले चीवर प्राप्तीका लागि गरेको याचनापछि भिक्षु बोधिज्ञान महास्थविर उनीहरुलाई चीवर प्रदान गुर्नभएको थियो ।
उक्त अवसरमा उहाँले भगवान बुद्धको जन्मस्थल लुम्बिनी नजिक रहेको सो विहारमा साप्ताहिक रुपमा शुरु भएको प्रव्रज्यामा सहभागी नव श्रामणेरहरुले बिहान बेलुका बुद्ध पुजा गर्ने, ध्यान भावना गर्ने, पालि भाषा सिक्न पाउने अवसर प्राप्त गर्न पाएका छन्, भन्नुभयो । साथै सो कार्यक्रमको हेतु भन्ते, श्रामणेरहरुलाई ७ दिन भएपनि जलपान, भोजन दान गरी पुण्य कार्यमा सहभागी भई धेरै धेरै कुशल कार्यहरु गर्ने सुअवसरहरु प्राप्त भएकोमा उपासकउपासिकाहरुले खुशी व्यक्त गरीरहेको उहाँले बताउनुभयो ।
उक्त विहारका विहारप्रमुख भिक्षु कविन्दोले ७ दिनको लागि अल्पकालिन रुपमा भएपनि प्रव्रजित हुन पाउन लागेकोमा भाग्यमानी भएको भन्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले अनुकम्पा राखी बुटवलसम्म आउनुभई प्रव्रज्या दिन लाग्नुभएकोमा उहाँप्रति कृतज्ञ भाव व्यक्त गर्नुभयो ।
विहार संचालक समितिका अध्यक्ष ले प्रव्रज्याका लागि आवश्यक सामाग्रीहरु दान गर्नुहुने, सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार प्रकट गर्नुहुँदै यसरी सहयोग र उपस्थिति पाएकाले विहारले आगामी दिनहरुमा पनि अझ राम्रो कार्यक्रमहरु गर्न हौसला प्रदान गरेको बताउनुभयो ।
आजदेखि शुरु भएको प्रव्रज्यामा केश छेदनपछि १० जना धम्मदायादहरुले त्रिचीवर प्राप्त गरेका थिए भने प्रव्रज्या प्राप्तीपछि विहार परिसरमा भिक्षाटन पनि गरेका थिए । जसमा पद्म चैत्य विहार संचालक समितिका पदाधिकारीहरु लगायत गुरुमा एवं उपासकउपासिकाहरुले भन्तेहरु लगायत नवश्रामणेरहरुलाई दानप्रदान गरेका थिए ।
आगामी असार ७ गते सम्मका दिनहरुमा अल्पकालिन नव श्रामणेरहरुले पहेलो चीवर पहिरी बुद्ध धर्मका १० वटा शील (नियमहरु) पालना गरी आफूलाई बाह्य मात्र नभई आन्तरिक रुपमा पनि रुपान्तरण गर्नेछन् ।