एथलेटिक्समा अनिशाले तोडिन १८ वर्ष पुरानो किर्तिमान

भक्तपुर, जेठ ३१
बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार सम्पन्न १५ औं केन्द्रीय राष्ट्रत रनिङ शिल्ड प्रतियोगितामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् ।
अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत र कर्णालीकी सरिता शाही कास्य पदक प्राप्त गरिन् ।
तीनदिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । एथलेटिक्समा छात्रा ट्रिपलजम्पसहित छात्र÷ छात्राको ४ गुणा १ सय मिटर रिलेमा राष्ट्रिय जुनियर कीर्तिमान बने । छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जियो ।
बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । यसमा गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो बने ।
सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।


यसअघि छात्र १ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर (१०.७६ सेकेन्ड), छात्रा ४ सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक (१ मिनेट ०१.१९ सेकेन्ड), छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी (२ मिनेट १७.९ सेकेन्ड) र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु (५७.४० मिटर) ले कीर्तिमान स्थापित गरेका थिए ।
त्यस्तै, छात्र÷छात्राको बागमती टोलीले ४ गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे । छात्रमा प्रवीण राना मगर, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए ।
छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए । उनले १३.७३ मिटर जम्प गरे । सुदूरपश्चिमकै विक्रम नाथ दोश्रो र बागमतीका अविनाश सुनार तेश्रो भए ।
छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए । उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे । कोशीका अमिर लिम्बू दोश्रो तथा लुम्बिनीका अर्विन्दकुमार यादव तेश्रो बने ।
सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत तथा कर्णालीकी स्वस्तिका कठायतले कांस्य पदक जितिन् ।
छात्र २ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए । उनले २२.४ सेकेन्ड समय खर्चे । लुम्बिनीका सुभम् वमरेल दोश्रो तथा गण्डकीका सुदीप भण्डारी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले २७.१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुषी भट्टराई दोश्रो तथा गण्डकीकी अनुष्का अधिकारी तेश्रो भए ।