भक्तपुर, जेठ ३१
बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ च्याम्पियन बनेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो ।
यस्तै ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेशले तेश्रो भयो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो । गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदकका साथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौं भयो । सातौं स्थानमा रहेको कोशी प्रदेश स्वर्ण विहीन भयो । कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको ।