भक्तपुर, जेठ ३०
जापानिज भाषा स्कुल संघ (जाल्सान), नेपालले आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरसँगको सहकार्यमा शैक्षिक परामर्श व्यवसायीलाई बुधवार करदाता शिक्षा र लेखा व्यवस्थापन तालिन प्रदान गर्नुका साथै करका विषयमा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले परामर्श व्यवसायीले पालना गर्नुपर्ने कानुनी प्रावधानका बिषयमा जानकारी दिनुका साथै व्यवसाय मैत्री नीतिमार्फत अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न निजी क्षेत्रबाट सकारात्मक भूमिकाको खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
कर अधिकृत रमेश श्रेष्ठले करसम्बन्धी विविध विषयमा जानकारीमूलक प्रस्तुती सहित व्यवसायीहरुलाई नेपाल सरकारले हालै बजेटमार्फत ल्याएका करका बारेमा शिक्षा दिनुभएको थियो ।
त्यसैगरी कर एवं लेखा व्यवस्थापनका विषयमा सिए नवराज गौतमले प्रशिक्षण दिनुभएको थियो भने सहभागीहरुको जिज्ञासालाई कर अधिकृत वेद प्रसाद खनाल र प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा जाल्सानका अध्यक्ष रमेश देवकोटाले कर शिक्षा कार्यक्रम व्यवसायीका लागि निकै उपयोगी भएको प्रतिक्रिया दिदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा गर्नुभयो ।
संस्थाका प्रथम उपाध्यक्ष एवं तालिम संयोजक महेश श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रम जाल्सानका महासचिव अरुण पाण्डेले सञ्चालन गर्नुभएको थियो भने कर सम्बन्धि सन्देशमूलक भिडियो सामाग्री प्रशारण गरिएको थियो ।