नेपाल मेडिसिटीमा पहिलो पटक कलेजो प्रत्यारोपण

भक्तपुर, जेठ २९
ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँको २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गर्नुभएको हो । प्रत्यारोपण गत जेठ ८ गते भएको अस्पतालले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने प्रत्यारोपणको लागि ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ । प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर)को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको थियो ।
भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँग सहकार्य गरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले बताउनुभयो ।


पत्रकार सम्मेलनमा कलेजो दाता आयुष कार्कीले बुबालाई कलेजो दान गर्न पाउँदा आफु जन्मले सार्थकता पाएको बताउनुभयो । “मलाई मेरो जन्म भएको दिन थाहा थियो, तर आज म किन जन्मेको रहेछु भन्ने बारेमा पनि थाहा भयो,” उहाँले भन्नुभयो ।
उहाँले बुबाको उपचारका लागि दुई पटकसम्म भारत जाँदा पनि प्रत्यारोपण गर्न नसकिएको बताउनुभयो । “हामी उपचारका लागि दुई पटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नैपर्छ भनेपछि हामी झन् आँतियौं र नेपाल नै फक्र्याैं,” आयुषले भन्नुभयो ।
नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि मेडिसिटी अस्पतालमा परामर्शको लागि पुगेको उहाँले बताउनुभयो । कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेको जानकारी दिँदैं उहाँले भन्नुभयो, “नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनु प¥र्यो । यदिपहिले नै यहाँ परामर्श लिएको भएहाम्रो समय र पैसा दुबै खर्च हुने थिएन,”


मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको यो पहिलो पटक हो । अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो अस्पतालका अध्यक्ष डा. महत्तोले बताउनुभयो ।
नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् ।
“हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्धेश्यले नै यो अस्पताल सञ्चालनमा ल्याएका हौं । त्यसैले यहाँका जनशक्तिलाई नै बलियो बनाई जस्तो सुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं,” उहाँले भन्नुभयो ।
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको डा. श्रेष्ठले बताउनुभयो ।
“ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो । उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो । यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए । उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको कलेजोको सफल प्रत्यारोपण भएको छ,” डा. श्रेष्ठले भन्नुभयो ।


कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको उहाँले बताउनुभयो ।
बिरामीको शल्यक्रिया गर्नु अघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने जानकारी परिवारलाई गराएर मात्र बिरामीको कलेजो प्रत्यारोपढा गरिएको कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु साहले बताउनुभयो ।
“बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बिति सकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौं,” उहाँले भन्नुभयो ।
नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको अस्पतालका अध्यक्ष डा. महत्तोले बताउनुभयो ।
मेडिसिटीमा कलेजोसँगैं विभिन्न अंगको प्रत्यारोपण हुँदै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलता पूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जनाभन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।