भक्तपुर, जेठ २८
मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुले तीन वर्षमा गरेका कार्य प्रगति बुधवार सार्वजनिक गरेको छ । मध्यपुर सञ्चार समाजले आयोजना गरेको ‘नगरप्रमुख र सञ्चारकर्मीबीचको सम्वाद’ कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र नगरपालिकाको महाशाखा प्रमुखलाई साथै राखी १५ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेको हो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले तीन वर्षमा ऐन कानून, नियम, नियमावली, कार्यविधि र निर्देशिका ४९ वटा निर्माण गरेको जानकारी दिनुभयो । “हामी निर्वाचित भएर आउँदा नगरपालिकाको न्यून मात्र ऐन नियम, कानून थियो । यो तीन वर्षमा ४९ वटा ऐन नियम निर्माण गरी नगरपालिकालाई नीतिगत रुपमा कानून बमोजिम सञ्चालन गरेका छौं,” उहाँले भन्नुभयो ।
मध्यपुर थिमि नगरपालिकाले आन्तरिक आम्दानी एवम् राजश्व संकलनमा पनि उल्लेख्य बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १८ करोड ४५ लाख रुपैंया आन्तरिक आम्दानी तथा राजश्व संकलन रहेको नगरपालिकामा आ.व. २०७९÷०८० मा २४ करोड १९ लाख, आ.व. २०८०÷०८१ मा ३० करोड र चालु आ.व.को बैशाखसम्म २२ करोड संकलन भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले पुँजीगत खर्च आ.व. २०७९÷०८० मा ५३ दशमलव ९९ प्रतिशत , आ.व. २०८०÷०८१ मा ६३ दशमलव २५ प्रतिशत र आ.व. २०८१÷०८२ मा जेठ १५ गतेसम्म ३१ प्रतिशत रहेको बताउनुभयो ।
यसैगरी चालुखर्चतर्फ आ.व. २०७९÷८० मा ७४ दशमलव ५३ प्रतिशत, आ.व. २०८०÷८१ मा ७३ दशमलव ०८ प्रतिशत र चालु आ.व.को १० महिनामा ५१ दशमलव ७४ प्रतिशत रहेको छ ।
पूर्वाधार विकासतर्फ सडक कालोपत्रे तथा ढलान १५९५५.४ मिटर, ढुंगा तथा ब्लक छपाई ८०९८.४५ मिटर, बाटो खोल्ने, फराकिलो पार्ने, सिमांकन सहित ८५९८.३ मिटर, ग्राभेल ६०५५.२२ मिटर, ढल निकास ९२३८.४ मिटर गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार तीन वर्षमा मध्यपुर थिमिमा सामूदायिक भवन, वडा कार्यालय भवन, ट्रस निर्माण २९ वटा, सार्वजनिक शौचालय ६, मन्दिर २६, ज्येष्ठ नागरिक गृह २, फल्चा, पाटी, सत्तल ३०, बहा बही, बिहार, गुम्बा ९, पार्क, उद्यान, बगैंचा, चौतारा २८, ऐतिहासिक दरवार पुनःनिर्माण ३, देवी देवताको खट ११, विद्यालय भवन निर्माण तथा मर्मत ४, पोखरी ५, मसान घाट, सुधारिएको शवदाह गृह ५, हिटी, इनार कुवा १३ वटा निर्माण भएका छन ।
यसैगरी मन्दिर रंगरोगन ३४३, नदी नियन्त्रण ३०० मिटर, पहिरो नियन्त्रण १४७ स्थानमा भएको छ । शिशु स्याहार केन्द्र, आपतकालिन आश्रयस्थल, सेन्ट्रल किचेन, ध्वखा (गेट) पनि निर्माण भएको छ ।
उहाँले मध्यपुर थिमिको धार्मिक क्षेत्रलाई समेटेर क्षयरोग अस्पताल देखि निलबाराही मन्दिरसम्म सम्पदा मार्गको रुपमा विकास गरेको जानकारी दिँदैं सम्पदा मार्ग अन्तर्गत सिद्दिकाली देखि (दुनेंग) क्षयरोग अस्पताल सम्म र बोदे महालक्ष्मी निलबाराहीको निर्माण कार्य भइरहेको बताउनुभयो ।
लोकल मास्टर प्लान अन्तर्गत नगर भित्रका ऐतिहासिक बस्ती क्षेत्रका घरहरुको स्वरुप परिवर्तन कार्य सुरु गर्न विज्ञहरुसंग छलफल गरि कार्य अगाडि बढाएको छ ।
मध्यपुर उज्यालो अभियानः अन्तर्गत मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडक र अरनिको राजमार्गसहित १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडानका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई सो परियोजना अन्तर्गत सानोथिमिमा स्मार्ट लाइट जडान कार्य धमाधम भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नीलबाराही क्षेत्र संरक्षणका लागि डिपिआर तयार गरी उक्त स्वीकृत डिपिआर अनुसारको निर्माणका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसंग साझेदारीमा १ वटा र नगरपालिकाबाट १ गरी दुई वटा निर्माण कार्यको टेण्डर भई ठेक्का सम्झौता सम्पन्न भएको उहाँले बताउनुभयो ।
उहाँले परम्परागत माटोको भाँडा बनाउने पेशा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माणका लागि संग्रहालय स्थापना, नपा प्रशासकिय भवनको टेण्डर प्रक्रिया, वडा नं. २ को प्रशासकिय भवन निर्माण, मध्यपुर महोत्सव २०८१, इकोज इन द भ्याली संगीत महोत्सव, दिव्यश्वरी मन्दिर गुरुयोजना कार्यान्वयन, स्वंगा पुखु पुनःनिर्माण, नायगाचा क्षेत्रको सरसफाई, सौन्दर्यकरण र खुल्ला क्षेत्र बिस्तार प्रमुख उपलब्धी रहेको बताउनुभयो ।
उहाँले नगरका ९ वटै वडामा स्वास्थ्य सेवा बिस्तार, ६० वर्ष नाघेका र ७० वर्ष नपुगेका जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र दलित परिवारको साथै महिला स्वास्थ्य स्वयम् सेविका, दर्ता सहयोगीसहित २७३३ परिवारको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क रगत वितरण १०८३ जना, घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोलीले महिनाको २ दिन प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालनलाई स्वास्थ्य सेवाको उपलब्धीको रुपमा व्याख्या गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले स्ववासीको रुपमा रहेका नगरवासीलाई करिव २४०० वटा पुर्जा वितरण र २०५६ साल देखि नक्सा पास रोक्का रहेको बुढाथोकी, काँलाडोल, मनोहरा फाँट बोडे तथा २०७७ साल देखि पुनः रोक्का रहेका कोँला फाँट, विसंतकी, राधेराधे, कुण्डोल र गाँखु क्षेत्रमा एकिकृत जग्गा विकास योजना सञ्चालन गर्ने उद्देश्यले प्रारम्भिक सम्भाव्यता अध्ययन गराई सो अध्ययनको प्रतिवेदनको आधारमा जग्गा विकास आयोजना सञ्चालन सम्भव नभएका स्थानमा घरनक्सा फुकुवा गरी नियमित र अभिलेखिकरण गर्ने निर्णय गरी कार्यान्वयन ल्याएको जानकारी दिनुभयो ।
शिक्षामा कक्षा १ देखी १२ सम्मका करिव ३ हजार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति, सामुदायिक विद्यालयमा ईसिडीलाई २ वर्षको बनाई थप १ जना गरी १५ जना शिक्षकको व्यवस्था, शिक्षक दरबन्दी मिलान तथा शिक्षक नपुगेको विद्यालयहरुमा नगरपालिकाको अनुदानमा ५ जना शिक्षक व्यवस्था, सामूदायिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलापहरु खेलकुद, नृत्य, गित संगीत तथा कम्प्युटर शिक्षकको व्यवस्था गरेको छ ।
यस्तै सामूदायिक विद्यालयका विद्यार्थीहरुको दिवा खाजाका लागि केन्द्रीकृत भान्छा घर निर्माण गरी खाजामा एकरुपकता ल्याउनुका साथै स्वस्थकर एवम् पौष्टिक खाजा खुवाउने गरी भवन निर्माण कार्य सम्पन्न भएको र खाजा खुवाउनका लागि डब्लुएफपी र फुड फर लाइफ र नगरपालिका बीच सम्झौता भएको छ ।
कक्षा ६ सम्मका विद्यार्थीहरु लागि स्टेशनरी सामाग्री निःशुल्क वितरण, माध्यमिक विद्यालय स्तरीय विज्ञान, गणित प्रदर्शनीका साथै नृत्य, वक्तृत्वकला, चित्रकला लगायतका प्रतियोगिताहरु नियमित सञ्चालन गर्नुका साथै नगर प्रमुख श्रेष्ठले स्थानीय पाठ्यक्रम कक्षा ६ देखी ८ सम्म लागू भएको र कक्षा १ देखी ५ सम्मको पाठ्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हरियाली प्रर्वद्धनका लागि विभिन्न स्थानमा वृक्षारोपण गरिएको, फोहर मैला संकलनका लागि २० जना सफाइकर्मी, १३ जना द्रुत सहयोगी ४ सवारी चालक, टिप्पर ठूलो २, हात्ति गाडी ३ वटा, जेट मेसिन १, व्याको लोडर २ वटा परिचालन, चार वटा नीजि क्षेत्र परिचालन गरी दैनिक रुपमा करिब ४५ टन फोहर संकलन तथा व्यवस्थापन र नीजि क्षेत्रसंग समन्वय गरी २००० वटा भान्छा(किचन) को फोहर श्रोतमै बर्गिकरण गरी संकलन गरिएको छ ।
उद्यम र उद्यमशिलता विकासका लागि ९० जनालाई विभिन्न सिपमूलक तालिम, बेरोजगारमा सूचिकृत २६७ जना मध्ये ९३ जनालाई एक सय दिन बराबरको रोजगारी, महिलाहरुलाई आत्मनिर्भर बनाउन, उद्यमशिलता विकास गरी स्वरोजगार बनाउन विभिन्न ९० वटा तालिम मार्फत १८४६ जनालाई विभिन्न किसिमका छोटो अवधीको आय आर्जन तथा सीप विकास तालिम र ईन्स्योर परियोजना मार्फत कार्यगत अभ्यासमा आधारित लामो अवधी (१६९६ घण्टाको ) व्यवसायिक तालिम २ वटा मार्फत १२० जनालाई तालिम प्रदान गरिएको छ ।
तीन वर्षमा कृषि उत्पादन बृद्धि गर्न माटो सुधारको लागि ५० प्रतिशत अनुदानमा ४३२ जनालाई कृषि चुन, ४३२ जनालाई कौशी खेती तालिम तथा सामाग्री वितरण गरिएको छ । हिउदे तथा बर्षे तरकारी वीउ मिनिकिट ४१७५ पकेटर कृषि व्यावसाय प्रवद्र्धन गर्न ५०% अनुदानमा प्लाष्टिक १२१ वटा र स्प्रेयर २३९ वटा वितरण गरिएको छ ।
यस्तै पशु उपचार ६६४५, सर्जिकल उपचार २३५, कृत्रिम गर्भाधान ३३२१, रेविज खोप २८०७, एफएमडी खोप ३९५० पशुलाई दिईएको छ ।
नगरभित्रको सार्वजकिन जग्गाहरुको संरक्षणका लागि प्रत्येक वडाको सार्वजनिक जग्गाको विवरण अद्यावधिक गरी हालसम्म विभिन्न १९ स्थानको सार्वजनिक, पर्ती र सरकारी जग्गा सिमांकन गरी संरक्षणको कार्य अघि बढाएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठ नेतृत्वको न्यायीक समितिले समितिका दर्ता भएका १८६ निवेदन मध्ये ११६ वटा निवेदनको मेलमिलाप, सहमती र निर्णय भएको र तामेलीमा पठाएको निवेदन संख्या ३४ रहेको छ ।
नगरपालिकाले दिने सेवा सूविधाहरुका सूचना प्रवाह, पारदर्शी सुशासन र नागरिक सहभागिताका लागि नगरपालिकाको आधिकारिक वेवसाइट, फेसबुक, युट्युव सञ्चालन गरिएको जानकारी दिँदैं नगरपालिकाको गतिविधि जानकारी दिन रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै हाम्रो मध्यपुर थिमि बुलेटिन प्रकाशन गरिएको बताउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा, डायलासिस, एन्जियोग्राम सहितको सिटि स्क्यान शुरु गरिएको छ । ब्लड बैंक सञ्चालनको अन्तिम तयारीमा छ । ३ करोड ५० लाखको आकस्मिक कोष स्थापना, कोइकाको १ अर्ब ३० करोड बराबरको सहयोगमा १०० शैयाको अत्याधुनिक नयाँ भवन निर्माण भइरहेको छ ।
यस्तै अत्याधुनिक मोडुलर अपरेशन थिएटर (ओटी) सञ्चालन, अत्याधुनिक आइसियू र एचडियू सेवा बिस्तारको क्रम शुरु, आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसियू) सञ्चालन पनि तीन वर्षे उपलब्धी भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले ९१ वटा सहकारी संस्थाहरु कोपोमिसमा आबद्ध गराइएको, वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन अगाडि बढीरहेको जानकारी दिनुभयो ।
पर्यटन, कला, धर्म संस्कृति अन्तर्गत मध्यपुर थिमि क्षेत्रमा मनाईने विभिन्न ऐतिहासिक, साँस्कृतिक एवँ पौराणिक नाच, जात्रा, चाडपर्व, रितिरिवाज र संस्कृतिको संरक्षण र सम्वद्र्धन कार्यका लागि वार्षिक रुपमा बजेटको व्यवस्था गरिएको नेपाल भाषा लिपि (रञ्जना लिपि र प्रचलित लिपि) लेखन तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी पर्यटन प्रवद्र्धनका लागि लायन्स क्लव, नेपाल सम्पदा संघ, प्याव्सन भक्तपुर, टुरिष्ट गाइड एशोसियसन.लगायतका संघ संस्थाहरुको सहकार्यमा सम्पदा पदयात्रा गराईएको छ ।
महिला हिंसा निवारण कोषको स्थापना गरिएको, किशोरीहरुका लागी जिवन उपयोगी सिप तालिम प्रदान गरिएको, बालमैत्री स्थानिय शासनयुक्त नगर घोषणाको तयारी शुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँले नगरपालिकाले पर्यटन, संस्कृति र वातावरण क्षेत्रमा गरेको उल्लेख्य कार्यको मूल्यांकन गरी नेपाल नगरपालिका संघले मध्यपुर थिमिलाई देशकै उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गर्नु, सूचना आयोगको १८ औ स्थापना दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी राष्ट्रपतिबाट उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत हुनु, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन (एफएआर)मा मा मध्यपुर थिमि भक्तपुरको उत्कृष्ट हुनु, जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमिको स्वास्थ्य सेवा उत्कृष्ट घोषित हुनु र आ.व. २०८०÷०८१ को महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिका भक्तपुरमा सबैभन्दा कम बेरुजु भएको पालिका बन्न सफल हुनुलाई नगरपालिकाको पारदर्शी, जवाफदेहिता र सुशासनमा प्राप्त महत्वपूर्ण उपलब्धी रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर श्रेष्ठ, पत्रकारहरु रत्न श्रेष्ठ, पृथ्वीराम श्रेष्ठ, कृष्ण प्रजापति, कृष्ण किसी, विज्ञान श्रेष्ठ, हेमराज ढकाल, रत्नकाजी प्रजापति, प्रदिप ढकाललगायतले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।
पत्रकारहरुको जिज्ञासाको विषयमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोल, वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापति, वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।
आयोजक समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल करिव ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।