बोदेमा आयोजित स्थलगत सम्पदा चित्रकला प्रतियोगितान जेनिस प्रथम

भक्तपुर, जेठ २८
मध्यपुर थिमि–८, बोदेमा मंगलवार आयोजित स्थलगत सम्पदा चित्रकला प्रतियोगितामा ग्ल्याडस्टोन एकेडेमीका जेनिस बलम्पाकी प्रथम हुनुभएको छ । वडा नं. ८ कार्यालयले अमेजिङ्ग आर्ट एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा आयोजना गरेको सो प्रतियोगितामा ईम्यानुयल ई. स्कुलका करिन राई दोस्रो हुनुभयो ।
मध्यपुर थिमि नगरपालिका ब्यापी विद्यालय स्तरीय उक्त प्रतियोगितामा सिद्धार्थ विद्यापीठका आरोही बल्ल तृतीय, क्रियटिभ लनर्स एकेडेमीका संजीव श्रेष्ठ चौथो र प्राईम एकेडेमीका उत्कर्ष पाँले सान्त्वना पुरस्कार जित्न सफल हुनुभयो ।
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शिल्ड, नगद, मेडल र प्रमाणपत्र तथा सहभागी छात्रछात्रारुलाई प्रशंसा पत्र वितरण गर्नुभयो ।


सो अवसरमा नगरप्रमुख श्रेष्ठले नगरपालिका शैक्षिक गुणस्तर बृद्धिका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन एवम् व्यक्तित्व विकासका लागि काम गर्दै आइरहेको बताउनुभयो । सम्पदा, कला र संस्कृतिका बारेमा नयाँ पुस्तामा सचेतना फैलाउने कार्यमा प्रतियोगिता उपयोगी र उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।
वडाअध्यक्ष रमेश थापा श्रेष्ठले कला सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा विद्यालय तहबाट नै अभियान चलाउनु पर्ने र चित्रकला त्यसमा शसक्त एवम् सकारात्मक माध्यम भएको धारण ब्यक्त गर्नुभयो ।
चित्रकला मार्फत बोदेको सम्पदाहरुहरु प्रचारप्रसार तथा छात्रछात्राहरु र अभिभावकहरुलाई कला सम्पदा संरक्षणमा सहभागी गराई जागरण ल्याउने उदेश्यले बोदेमा दोस्रो पटक सम्पदा चित्रकला प्रतियोगिता आयोजना गरिएको वडा नं. ८ का सचिव रञ्जन प्रजापतिले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रमुख निर्णायकमा बरिष्ठ चित्रकार बिष्णु पुकार श्रेष्ठ र सदस्यमा जुजुभाई बाँस श्रेष्ठ रहनुभएको थियो । प्रतियोगितामा मध्यपुर थिमि नगरका ३१ विद्यालयका १०९ जना छात्र छात्राहरुले बोदे क्षेत्र अन्तरगतका मुर्तअमुर्त सम्पदाहरुको चित्र स्थलगत रुपमा क्यााभासमा उतारेको थियो ।