नेपाल स्कटल्याण्डसँग २ रनले स्तव्ध, कीर्तिमानी जितबाट चुक्यो

भक्तपुर, जेठ २६
नेपाल क्रिकेटको एकदिवसीय खेलका किर्तिमानी जितबाट २ रनले चुकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेल अन्तर्गत आइतवार राती स्कटल्याण्डको डण्डीमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित हुँदैं किर्तिमानी जितबाट चुकेको हो ।
स्कटलयाण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भएपछि किर्तिमानी जितबाट चुकेको हो । नेपालले यो खेलमा जित हासिल गरेको भए एक दिवसीय क्रिकेटमा अहिलेसम्म ठूलो लक्ष्य पछ्याएर जित हासिल गरेको किर्तिमान कायम हुन्थ्यो । तर अन्तिम ओभरको ६ बलमा ७ रन बनाउन नसक्दा नेपाल यो किर्तिमानबाट चुकेको हो ।


स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याउने क्रममा भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । बलियो लक्ष्य पछ्याउँदा ३४–३ को दबाबपूर्ण स्थितिमा रहेको नेपालका लागि आरिफ शेख र भीम सार्की मिलेर ९४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । आरिफ ३९ रनमा आउट भएपछि भीम ७३ रनमा तथा त्यसपछि आएका गुल्शन झा ११ रनमा आउट भएपछि नेपाल १८३–६ को अवस्थामा पुगेको थियो ।
त्यसपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पु¥याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।


१२ बलमा १६ रन आवश्यक हुँदा ब्रान्डन म्याकमुलेनले एक चौकासहित ९ रन बेहोरेपछि नेपाललाई अन्तिम ओभरको ६ बलमा ७ रन आवश्यक भयो । यस्तोमा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए । पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो ।
त्यसपछि ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड भए ।
स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १–१ विकेट लिए ।


नेपाल एक साताभित्रै अर्को कीर्तिमानी जितबाट चुकेको हो । नेपालले ओडिआईमा ३०० भन्दा माथिको लक्ष्य हालसम्म पूरा गर्न सकेको थिएन । स्कटल्याण्डसँग गत साता भएको खेलमा २९७ रनको लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको नेपाललाई त्यो कीर्तिमान तोड्ने अवसर थियो ।
यद्यपी यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल भने बनेको छ । यसअघि नेपालले ओमानविरुद्ध कीर्तिपुरमा ३१० रनको योगफल खडा गरेको थियो ।
त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।
कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्यो ।