आरसीबीले जित्यो पहिलो पटक आईपीएल उपाधि

भक्तपुर, जेठ २१
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितेको छ । आईपीएलको मंगलवार राती सम्पन्न फाइनलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
यसअघि तीन पटक फाइनल प्रवेश गरेको आरसीबी उपाधि भिडन्तमा पराजित हुँदै उपविजेतामा सिमित बन्दै आएको थियो । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको आरसीबी उपाधिबाट वञ्चित भएको थियो । आरसीबीले १८ वर्षे इतिहासमा चौंथो प्रयासमा आईपीएलको उपाधि जितेको हो । आरसीबी सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित हुँदैं उपाधि विहिन बनेको थियो ।
पञ्जाब दोस्रो पटक पनि उपविजेतामा सिमित रहेको हो । २०१४ को फाइनलमा पन्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आरसीबीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।


शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । आरसीबीका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिए ।
लिग चरणमा पञ्जाब पहिलो र आरसीबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसीबी फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसीबीसँगको भेट पक्का गरेको थियो ।
आरसीबी च्याम्पियन भए पश्चात आइपीएलले ८औं च्याम्पियन टिम पाएको छ । यसअघि ७ टोलीले आइपीएल जितेको छ ।