एरिकालाई कराते–१ प्रिमियर लिगमा ऐतिहासिक पदक

भक्तपुर, जेठ १९
करातेका एरिका गुरुङले कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छिन । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजी माथि तौल समूहमा फ्रान्सका पिए क्लेमेन्सलाई ६–२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।
एरिकाले पहिलो सहभागितामै पदक दिलाउँदै दुर्लभ इतिहास आफ्नो नाम गरेकी छिन् । विश्व वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयतामा रहेकी क्लेमेन्सलाई पराजित गरेकी हुन् ।
कास्य पदकको खेलमा एरिकाले सुरुवातदेखि नै काउन्टर अट्याकको रणनीति लिँदै खेलेकी थिइन् । सुरुवातमा दुवैले युको जोडेपछि अर्को युको जोड्दै एरिकाले सेन्शु आफ्नो नाम गरिन् । त्यसपछि विपक्षीले लगातार आक्रमण गर्न खोजेपनि उनले लगातार विपक्षीको आक्रमण रोक्दै काउन्टरमा युको जोडी रहिन् । अन्त्यमा एरिकाले ६–२ को जित दर्ता गरिन् ।
विश्व कराते महासंघले विश्वका ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ । एरिकाले पछिल्लो समय एकपछि अर्को राम्रो प्रदर्शन गरेपछि मोरक्कोको रबातमा भएको प्रिमियर लिगमा सहभागिता जनाउने अवसर पाएकी थिइन् । नेपाली खेलाडीको पहिलो सहभागितामै एरिकाले पदक दिलाउँदै अर्को इतिहास रचेकी छिन् ।
एरिकाले सुरुवाती चरणको रुपमा रहेको पुल ६ को खेलमा टर्कीकी जेना गाबालासँग २–२ र इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले हराउँदा साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ को बराबरी खेलेकी थिइन् ।
त्यसपछि इजिप्टकी हैदी महघुबलाई ८–२ ले हराएकी उनी स्पेनकी मारिया टोरेस गार्सियासँग भने ५–५ को बराबरीमा पछि परेकी थिइन् । त्यसपछि तेस्रो स्थानको खेलमा उनले क्लेमेन्सलाई हराइन् । एरिकालाई सेमिफाइनलमा हराएकी मारिया टोरेसले नै फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४–२ ले हराएर स्वर्ण जितिन् ।