
भक्तपुर, जेठ १९
मध्यपुर थिमिमा आइतवार सिथि नखःको साँझ पद्यपाणी लोकेश्वर (करुणामय)को खट जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमि–४ मरुटोलको हिरण्यवर्ण महाविहारमा अवस्थित करुणामयलाई सिथि नखःको दिन चपाचोस्थित जिस्वाः बहाबाट खटमा राखी जात्रा गरेर पुनः हिरण्यवर्ण महाविहारमा विराजमान गराईएको हो ।
जात्राका क्रममा बाजागाजासहित करुणामयलाई हात्ती महांकाल, दिगुटोल, दुईपोखरी, लाय्कू, दथुटोल, मरुटोल, बालकुमारीको परिक्रमा गराईएको थियो ।
जात्रा अघि लोकेश्वरलाई वस्त्र र गरगहनाद्वारा सजाई सानो खटमा राखेर स्थानीय गणेशपाटीमा विराजमान गराईएको थियो । त्यहाँ थिमि, बोदे, नगदेश क्षेत्रका स्थानीयवासीले यसै वर्ष आआफ्नो खेतवारीमा उब्जनी भएका तरकारी, खाद्यान्न चढाएका थिए ।
मध्यपुर थिमिको लोकेश्वर करुणामयलाई ललितपुरकोे रातो मत्स्येन्द्रनाथको रुपमा लिईन्छ । पुजारी धर्मसुन्दर वज्राचार्यका अनुसार किराँतकालिन थिमि शहरमा ललितपुरका बज्राचार्यहरुको बसोबास भएपछि लोकेश्वरको जात्रा शुरु भएको भनाई पाइन्छ । तर लोकेश्वरको स्थापना र जात्रा कहिले शुरु भएको भन्ने बारे हालसम्म धार्मिक एवम् ऐतिहासिक तथ्य फेला परेको छैन ।
जात्रा गर्नु केही दिन अघि लोकेश्वरलाई ‘न्हवं’ अर्थात महास्नान गराईन्छ । ‘न्हवं’ गर्दा पाटनको रातो र काठमाण्डौंको सेतो मत्स्येन्द्रनाथलाई जस्तै लोकेश्वरलाई पनि दुध, दही, घिउ, मह र पानीले स्नान गराइन्छ । पुजारी वज्राचार्यका अनुसार हेमवर्ण विहारमै यसरी महास्नान गराइसकेपछि लोकेश्वरलाई चपाचोस्थित जिस्वां बहालमा लगी घाममा सुकाइन्छ । त्यसपछि रङरोगन हुन्छ । रङरोगनपछि मानिसलाई जस्तै न्वारान, इही, बाह्राः, चुडाकर्म जस्ता केटा र केटी दुवैलाई गरिने संस्कार गरिन्छ । यसलाई १० कर्म संस्कार गरिने भनिन्छ । त्यसपश्चात् मूर्तिमा जीवन्यास गरिन्छ ।